चौमासिक लक्ष्य अनुसार उठेन राजस्व



नेपालगञ्ज ।

चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिकमा नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजस्व असुली गरेको छ । विगतका वर्षहरुमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्दै आइरहेको भन्सार कार्यालयले यसपटक भने लक्ष्य पु¥याउन सकेन । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा १ अर्ब ८० करोड २१ लाख रुपैयाँ कम राजस्व संकलन भएको भन्सार प्रमुख शान्तिराम निरौलाले जानकारी दिए ।

भन्सार विभागले नेपालगञ्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पाँच अर्ब ५४ करोड ८२ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । विभिन्न कारणले गर्दा पहिलो चौमासिकमा लक्ष्य अनुसारको लक्ष्य पुरा गर्न नसकिएको भन्सार प्रमुख निरौलाले बताए । ‘पछिल्लो चार महिनामा तीन अर्ब ७४ करोड ६० लाख ९८ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ’ उनले भने, ‘यो समयमा विभिन्न वस्तुको आयात घटेकाले राजस्व कम उठेको हो ।’

चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब २३ करोड ८९ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ८६ करोड २ लाख ४ हजार मात्र राजस्व असुली भएको थियो । त्यसैगरी भदौंमा एक अर्ब ५४ करोड ८३ लाख २९ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखिएकोमा एक अर्ब ८८ लाख १५ हजार रुपैयाँ मात्र संकलन भयो । असोजमा एक अर्ब ५४ करोड ८३ लाख २९ हजार रुपैयाँ लक्ष्य राखिएकोमा ९६ करोड ४६ लाख ३८ हजार मात्र राजस्व उठेको भन्सार प्रमुख निरौलाले बताए । उनका अनुसार कात्तिक महिनामा १ अर्ब २१ करोड २५ लाख ९७ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ९० करोड ९७ लाख ४१ हजार रुपैयाँ संकलन भएको थियो । पछिल्लो चार महिनामा राजस्वको ठूलो हिस्सा हुने पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व संकलनमा समेत समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।

गत वर्षसम्म ठप्प रहेको जडीबुटी निकासी भर्खरै मात्र सुरु भएको तथा अहिले आएर पेट्रोलियम पदार्थको आयात फेरी बढ्न थालेकाले मंसिर महिनाबाट लक्ष्य अनुसार राजस्व प्राप्त हुने भन्सार प्रमुख निरौलाले बताए । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ, आलु, औद्योगिक मेसिनरी, खाद्यान्न, पत्थर कोइला लगायतका विभिन्न वस्तुहरुको आयात सबैभन्दा बढी हुने गरेको छ । बाँके जिल्लाका विभिन्न स्थानहरुमा रहेका ७ वटा छोटी भन्सार कार्यालयहरु लामो समयदेखि बन्द रहेका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा समेत मुस्किलले नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य पु¥याएको थियो ।

प्रकाशित मिति : २०७६ मंसिर २१ गते शनिबार