काठमाडौँ, २० मङ्सिर :
नेपाल वातावरण पत्रकार समूहको भवन शिलान्यास गरिएको छ । ललितपुरको भनिमण्डलस्थित नयाँ बन्न थालेको भवनको अर्थमन्त्री डा युवराज खतिवडा र वरिष्ठ पत्रकार भैरव रिसालले शिलान्यास गरेका छन् ।
उक्त शिलान्याश कार्यक्रममा अर्थमन्त्री खतिवडाले विकासमा मानिस र वातावरणको द्वन्द्व नभई सहकार्य र सहअस्थित्व हुनुपर्ने बताए । उनले विकास गर्दा वातावरणीय स्रोतको अस्तित्व समाप्त पारेर नभई जोगाएर काम गर्नुपर्नेमा जोड दिए ।
उनले गरिबीका कारण वातावरण दोहन भइरहेको उल्लेख गर्दै सरकारले दिगो लक्ष्यमा हस्ताक्षर गरिसकेकाले गरिबी निवारण र वातावरण संरक्षण गर्ने धारणा राखे । विकासबाट विनाश ननिम्तियोस् भन्नेका लागि हरित अर्थतन्त्रमा सरकारले जोड दिएको उनको भनाइ थियो ।
मन्त्री डा खतिवडाले गैरसरकारी संस्था दर्ता गरेर कम्पनीका काम गर्ने त्यस्ता संस्थालाई सरकारले नछाड्ने भन्दै कम्पनीअनुसार नै कर निर्धारण गरिने जानकारी गराए । वरिष्ठ पत्रकार रिसालले वातावरण जोगाउन समूहले ठूलो भूमिका खेलेको भन्दै सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताए ।
उनले बन्न थालेको भवनमा आर्थिक सहयोग गर्न पनि सरकारसँग आग्रह गरे । समूहका अध्यक्ष कसमस विश्वकर्माले सरकारले नयाँ भवन निर्माण गर्न सहयोग गर्नुपर्ने बताए ।
समूहका महासचिव निमेश रेग्मीले १९ आना तीन पैसा क्षेत्रफलमा साढे दुई तलाको भवन बन्न थालेको जानकारी दिएका छन् । करीव रु एक करोड ५० लाख लागतमा बन्ने भवन १० महिनामा निर्माण सम्पन्न हुनेछ । (रासस)








प्रतिक्रिया दिनुहोस्