16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

विद्यालय भवनको उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १९, २०७६  

बाँसगढी ।

बर्दियाको लालीगुराँस माध्यामिक विद्यालय माछागढमा निर्माण भएका २ वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । विद्यालयमा निर्माण भएका छुट्टा छुटै २ वटा ४ कोठे भवनको उद्घाटन गरिएको हो ।

बुधबार एक कार्यक्रमका बीच संविधानसभा सदस्य श्याम ढकाल, नगर प्रमुख सालिकराम अधिकारी लगायतको उपस्थितिमा विधिवत रुपमा उद्घाटन गरिएको थियो । शिक्षा समन्वय इकाई बर्दियाबाट प्राप्त ३२ लाख र सांसद विकास कोषबाट प्राप्त १० लाख गरी ४२ लाखमा २ तले ४ कोठे भवन निर्माण भएको हो । भने संघीय सरकारको ३० लाख र बाँसगढी नगरपालिकाको १० लाख गरी ४० लाखमा ४ कोठे भवन छुट्टा छुटै निर्माण गरिएका थिए ।

भवन उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य ढकालले विद्यालय भौतिक संरचनाले सम्पन्न भएको र अब गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । त्यस्तै बाँसगढी नगरपालिकाका नगर प्रमुख अधिकारीले विद्यालयमा भौतिक संरचना निर्माण, शिक्षक दरबन्दी मिलानका कामहरु सकिएको र अब सिकाई उपलब्धि हासिल गर्ने बेला आएको जानकारी दिए । नगरपालिकाले सामुदायिक विद्यालयको सुधार र शैक्षिक गुणस्तर अभिबृद्धिमा जोड दिईरहेकाले गुणस्तरीय शिक्षामा जोड दिन उनले आग्रह गरे । प्रधानाध्यापक तुलसी काफ्लेले शैक्षिक गुणस्तर हासिल गर्न विद्यालयका प्रत्येक कक्षा कोठामा प्रोजेक्टर जडान गरिएको बताईन् ।

उनका अनुसार आईसिटीद्धारा पढाई हुने र विद्यार्थीहरुलाई इन्टरनेटको पहुचमा ल्याईएको छ । ९ नम्बर वडाको एक मात्र माध्यामिक विद्यालय भएकाले पनि विद्यार्थी संख्या उल्लेखनीय रहेको र आगामी बर्ष देखि प्राविधिक धारको शिक्षामा पनि जोड दिने लक्ष्य राखिएको उनले बताईन् । विद्यालयमा प्लान ईन्टरनेशनल नेपालद्धारा अपांगमैत्री शौचालय पनि निर्माण गरिएको छ । विद्यालयमा हाल ५ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर १९, २०७६     6:32:23 PM  |