हुम्लामा वर्षकै सबैभन्दा बढी हिमपात



खुमबहादुर रावत । हुम्ला ।
हिमाली जिल्ला हुम्लामा वर्षकै सबैभन्दा बढी हिमपात भएको छ । यस वर्ष चौथो पटक भएको ठूलो हिमपातले कृषकहरू खुसी भएका छन् । हिमपातका कारण कृषि बाली सप्रिने भएकाले जिल्लामा किसानको मुहारमा खुसी छाएको छ । हिउँद सकिन लाग्दासमेत राम्रोसँग हिउँ पर्न नसक्दा चिन्तित बनेका कृषक अन्तिममा भएको हिमपातका कारण खुसी भएका हुन् ।

हिउँले कृषि क्षेत्रमा निकै फाइदा पुग्ने गरेको किसानहरू बताउँछन् । फागुनमा चौथोपटक परेको हिउँले निकै राहत पुगेको किसान छिरिङ लामाले बताए । उनले भने, ‘धेरै पछि हिउँ परे पनि अब बालीनाली र बोटबिरुवालाई राम्रो भएको छ ।’ फागुनमा परेको हिउँ छिटो पग्लिने र माटोमा उपयुक्त उमारशक्ति हुने भएकाले उपयुक्त भएको मानिन्छ ।

सोमबार रातिबाट परेको हिउँ जिल्लामा एक फिट जति छ । जिल्लाको उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ । दक्षिणी क्षेत्रका सर्केगाड, चंखेली, अदानचुली र तान्जाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेसीतिर ठूलो वर्षा भएको जिल्ला प्रशासन कार्यालयको स्रोतले जनाएको छ ।

यो वर्ष पुस र माघमा खासै हिउँ परेन । तर फागुनमा भने जति हिउँ परेकाले किसान हर्षित भएका छन् । हिउँले यहाँ उत्पादन हुने जेठासी बाली गहँु, उवा, जौ, नाफलजस्ता बाली उत्पादनमा फाइदा पु¥याउनेछ भने स्याउ, ओखार, आरु, खुर्पानीजस्ता फलफूलका बिरुवा नर्सरीबाट खेत बारीमा सार्न मद्दत पुग्ने सिमकोट गाउँपालिका कृषि विकास शाखा प्रमुख नेत्र शाहीले बताए ।

त्यस्तै, हिउँदमा जति धेरै हिउँ आयो त्यति नै बर्खेबाली कोदो, चिनो, कागुनो, धान फापर, लठ्ठे बाली राम्रो हुने कृषकहरूको भनाइ छ । आलु, पिँडालु, सिमीलाई पनि यो हिउँले राहत पु¥याउने लामाले बताए । जिल्लाको ८५ प्रतिशत खेतीयोग्य जमिन आकाशेपानीको भरमा भएको हुँदा यो हिउँले किसानलाई सिँचाइमा सहयोग पुगेको र बाली राम्रो हुने देखिन्छ ।

प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार