निर्वाचनमा मुख्य सुरक्षा चुनौतीको रुपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई लिइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी व्यवस्था मिलाइएको छ ।
कृष्ण ओली । कोहलपुर ।
बाँके कोहलपुर क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ६ को उपनिर्वाचन नजिकिदै जाँदा सुरक्षा सर्तकता बढाइएको हो । उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले वडा नम्बर ६ मा अस्थायी सुरक्षा शिविर राखिसकेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले आसन्न उपनिर्वाचनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।
‘आसन्न निर्वाचनलाई लक्षित गरेर व्यापक मात्रामा प्रहरी जनशक्ति थपिएको अवस्था छ’ उनले भने, ‘प्रहरी बिट मात्र रहेको वडा नम्बर ६ मा अहिले पहिलो चरणमा २५ जना प्रहरी परिचालन गरेका छौं ।’ ‘केही दिनमा नै थप २५ जना प्रहरी पठाउन लागेका छौं’ डिएसपी शाहीले भने । उपनिर्वाचनलाई शा
न्तिपुर्ण र मर्यादित रुपमा सम्पन्न गर्नको लागि कोहलपुर प्रहरीले थप मद्धत सुरक्षाकर्मी माग गरेर परिचालन गरेको हो । अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले पैदल तथा गाडि दुवैको माध्यमबाट गस्ती बढाएका छन् । निर्वाचन हुन गइरहेको वडा नम्बर ६ र निर्वाचनको लागि मतदान स्थल रहेको वडा नम्बर ५ मा समेत चौबिसै घण्टा सुरक्षाकर्मीहरु परिचालित भइसकेको अवस्था छ ।
निर्वाचनका अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको डिएसपी शाहीले बताए । उनले भने ‘निर्वाचन अवधिका लागि हामीले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएका छौँ, यसका लागि म आफैँ फिल्डमा खटिरहेको छु ।’ अन्य सुरक्षा निकाय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समवन्य गरेर सुरक्षाको व्यवस्था मिलाउने गरिएको डिएसपी शाहीले बताए । ‘शान्तिपूर्ण तथा भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायका लागि परेका छौँ, ढुक्कसँग मतदान गरे हुन्छ, डराउनुपर्ने कुनै अवस्था छैन’ उनले भने । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेकाले सुरक्षा निकायहरुले विप्लव समुहलाई नै मुख्य सुरक्षा चुनौती ठानेका छन् ।
कोहलपुरमा पनी सोही अनुसार प्रहरीले सुरक्षा रणनिती बनाएर लागु गरेको छ । ‘हामीले बाँकेमा मात्रै सो समूहका धेरै नेता–कार्यकर्ता पक्राउ गरिसकेका छौँ,’ बाँकेका एक प्रहरी अधिकृतले भने, ‘निर्वाचनलाई असर पार्ने बम विस्फोटलगायत घटना गराउने अवस्था अहिले छैन ।’ सुरक्षा व्यवस्था नियन्त्रणभन्दा बाहिर नजाने कोहलपुर प्रहरीले अनुमान गरेको छ । ‘अहिले हाम्रो धेरै ध्यान उपनिर्वाचनमा नै केन्द्रित भएको छ’ कोहलपुरका डिएसपी शाहीले भने, ‘विप्लव समुहले निर्वाचन विरुद्धका गतिविधी गर्न सक्ने जानकारी पाएका छौं । त्यसैले त्यहाँबाट गोप्य रुपमा सुचना संकलनको लागि प्रहरी परिचालन भइसकेका छन् ।’ निर्वाचनस्थल र आसपासका क्षेत्रमा चौबिसै घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्नेछन् । निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ ।
योजना अनुसार निर्वाचनको दिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी व्यवस्था मिलाइएको छ । यता जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुम प्रसाद सुबेदीले वडामा सुरक्षा व्यवस्था बलियो पारिएको बताए । ‘आसन्न निर्वाचनलाई ध्यान राखेर वडामा नेपाल र शसस्त्र प्रहरीले गस्ती गरिरहेका छन्’ उनले भने, ‘मतदाताहरुलाई शान्तिपुर्ण रुपमा मत खसाल्ने बातावरण तयार भइसकेको छ ।’
तत्कालीन वडाध्यक्ष राम सोहन थारुको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राम शरन थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुबेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमाल उम्मेदवारी दिएका छन् । उपनिर्वाचनमा मुख्यगरी नेकपाका राम शरन र काँग्रेसका श्रीकृष्ण बीच नै प्रतिस्पर्धा देखिएको छ । वडा नम्बर ५ को सिद्धार्थ आधारभुत विद्यालयमा उपनिर्वाचनको लागि मतदान स्थल तोकिएको छ । वडा नम्बर ६ मा अहिले दुई हजार २६ जना मतदाताहरु रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्