विमा भन्ने वित्तिकै हामी यति मात्र सम्झन्छौँ कि विमा गरेपछि कुनै घटना वा दुर्घटनामा परेको खण्डमा जोखिम बहन हुन्छ । त्यसमा अझ धेरै सोचौँला थोरै वचत पनि हुन्छ । तर विमा भनेको त्यति मात्र होइन । विमा लगानी हो, जीवनको सुरक्षा हो, लाभ हो । विमामा जम्मा गरेको थोरथोरै पैसा भोलिका दिनमा एकमुष्ट निकाल्दा धेरै हुन्छ । त्यो पैसाले आफ्ना बालबच्चाहरुको उज्वल भविष्य निर्माण गर्न सकिन्छ । राम्रो पालन पोषण, शिक्षादिक्षा दिन मद्दत पु¥याउछ । त्यसैले विमा सुनिश्चित भविष्यको सुनौलो आधार पनि हो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोहलपुर शाखा प्रमुख रन बहादुर वली सँग मिसनकर्मी यानबी साहु ले गरेको कुराकानी :
१. विमा केका लागि र किन गर्ने ?
सर्व प्रथम त विमा गर्नु भनेको वचत गर्नु हो । त्योसँगै लगानी, करलाभ र जोखिम वहन पनि हो । यिनै कारणले गर्दा विमा गर्नुपर्छ । विमा गर्दा एकमुस्ट रकम जम्मा गर्नु पर्छ भन्ने हुँदैन । यसमा कुनै एउटा रकम कबुल गरिन्छ र त्यसलाई किस्ता किस्ता गरेर निश्चित समयमा चुक्ता गर्नु पर्ने हुन्छ । त्यसरी तिरेको रकम निश्चित समय पुगेपछि एकमुस्ट निकालेर कुनै ठुलो काममा लगानी गर्न सकिन्छ, बच्चा बच्चीको राम्रो शिक्षादिक्षा, पालनपोषण लगायतका काम गर्न सकिन्छ । त्योसंगै विमा गरिसकेपछि लाभकर छुटका साथै त्यसले जोखिम वहन गर्ने भएकाले विमा गर्न अति जरुरी छ ।
२. कस्ता कस्ता विमा योजनाहरु छन् ?
हाम्रो कम्पनीमा विभिन्न खालका योजनाहरु छन् । जस्तो बच्चबच्चीको लागि र ठूलो मान्छेहरुको लागि छुट्टा छुट्टै खालका योजनाहरु छन् । त्यसमा पनि कोही योजनाहरु एकमुष्ट पैसा जम्मा गर्ने खालका हुन्छन् । ती योजनाहरुमा कतिवर्ष पैसा राख्ने भन्ने हुन्छ । १० वर्ष, १५ वर्ष, २० वर्ष वा २५ वर्ष । त्यो राख्दै जाँदा ती योजनाहरु मध्ये आफूले कुन योजनामा सरिक हुने र कुनबाट लाभ लिने भन्ने हुन्छ । प्राय बच्चाहरुको लागि शैक्षिक खालको योजनाहरु हुने गर्छन् । उनीहरुको राम्रो शिक्षा दिक्षा, पालन पोषणको लागि सचेत आमाबुवाहरुले पैसा जम्मा गरेर राख्ने गर्नुहुन्छ भने ठूलो मानिसहरुको लागि पछि गएर अशक्त वा बृद्धा अवस्थाको साहारा हुने खालका योजनाहरु छन् । त्योसंग मृत्युपश्चात पनि किरीया खर्च स्वरुप उहाँको परिवारले रकम पाउने खालका योजनाहरु पनि हामीसंग छन् ।
३. कम्तीमा कति र अधिकतम कतिको विमा गर्न सकिन्छ ?
यसमा दुई वटा कुरा हुन्छ । जस्तो एउटा बच्चाको उम्मेरको कुरा हुन्छ भने अर्को ठूलो मान्छेको । बच्चाको हकको कुरा गर्न हो भने जन्मेकै दिनदेखि लिएर १५ वर्षसम्मकोलाई बच्चाको प्लान अर्थाथ योजनामा लिन सकिन्छ । त्यस्तै प्रस्तावकको हकमा आमा र वुवा जोसुकै भएपनि २० वर्ष पुरा भएको र ५० वर्ष ननाघेको हुनुपेर्ने हुन्छ । यदि आमा बुवा नभएको खण्डमा कानूनी संरक्षक बसेर पनि बच्चाको विमा गर्न सकिन्छ । यसमा कस्तो हुन्छ भन्दा जन्मेकै दिनदेखि १५ वर्षसम्मको बच्चा र २० वर्ष देखि ५० वर्ष ननाघेको संरक्षक बसेर बच्चाको विमा अघि बढाइन्छ र बच्चाले पाउने लाभहरु विमाको योजनामा उल्लेख गरिएको हुन्छ । त्यो विमा योजना भित्र उल्लेख गरिएको सर्त अनुसार केही घटना घट्यो भने बच्चाले राहत पाउने र बच्चालाई केही भयो भने संरक्षकले राहत पाउने हुन्छ । र ठूलो मान्छेको हकमा १६ वर्षदेखि लिएर ६५ वर्षसम्मका मान्छेको विमा गर्ने गरिन्छ । त्यस्तो योजनामा सरिक हुनका लागि उसको आयस्रोत, स्वास्थ्य स्थिति, शैक्षिक योग्यता, पारिवारिक स्वास्थ्य अवस्था लगायतका कुराहरु उठ्छन् । ती सबै योग्य भएमा मात्र विमा गरिन्छ ।
४. कुनै व्यक्तिले विमा गरेमा बोनस कति पाउँछ ?
नेपालका विमा कम्पनीहरुमध्ये नेशनल लाईफको बोनस दर अरुको तुलनामा नै छ । जस्तै हाम्रो न्युनतम ६३ देखि अधितम ८२ प्रतिशतसम्म छ । अर्को कुरा बोनसदर ‘ट्रमवाईज’र ‘प्लान’ अनुसार हुन्छ । विमितले कति वर्षेको प्लान लिएको छ अथवा कुन ट्रम लिएको छ सोही अनुसार बोनसदर निर्धारण हुन्छ । र तुलनात्मक रुपमा नेशनल लाईफको ६३ देखि ८२ प्रतिशतसम्म बोनसदर छ ।
५. कुन विमा योजनामा सरिक हुनका लागि कस्ता कस्ता खालका प्रावधानहरु लागू हुन्छन् ?
यसमा बच्चाको हकमा कुरा गर्दा बच्चाको जन्मदर्ता वा खोप कार्ड चाहिन्छ । त्योेसंगै प्रस्तावक बस्नेको नागरिकता वा अन्य कुनै नेपाल सरकारबाट मान्यता प्राप्त परिचय खुल्ने खालको कार्ड र उसको आयस्रोतका कागजातहरु आवश्यक हुन्छ भने ठूला मान्छेको विमा गर्दा पनि बच्चाको जस्तै प्रावधान अथवा कागजातहरु आवश्यक हुन्छ । यी सबै कागजातहरु पुरा भएको खण्डमा विमा गर्न सकिन्छ ।
६. विमा गरिसकेपछि कस्तो कस्तो अवस्थामा जोखिम वहन हुन्छ ?
विमा गरेको रकमको प्रिमियम कम्पनीमा जम्मा हुन वित्तिकै त्योसंगै पोलिसी जारी हुन्छ । त्यो जारी हुन वित्तिकै जोखिम वहन सुरु हुन्छ । जस्तो कुनै एक जना व्यक्तिको विमा जारी भयो । उहाँले वार्षिक किस्ता तिर्नु भएको थियो । फेरि, यसमा विमाको किस्ता तिर्न सक्ने प्रावधानहरु पनि छुट्टै छन् । मासिक, त्रैमासिक अद्र्धवार्षिक र वार्षिक गरेर पनि तिर्न सकिन्छ । उहाँले कस्तो किसिमले प्रिमियम तिर्नु भएको छ, त्यसमा भर पर्छ । यदि उहाँले एक महिहनाको लागि तिर्नु भएको छ भने एक महिनाको लागि, तीन महिलाको लागि तिर्नु भएको छ भने तीन महिनाको लागि जोखिम वहन हुन्छ । यसरी क्रमशः जति महिनाको तिर्यो त्यति महिनाको लागि जोखिम वहन हुन्छ । वार्षिकको हकमा भने कम्पनीले मौलत समय भनेर थप ३० दिनको समय दिएको हुन्छ ।
७. कुनै पनि विमा गरेको व्यक्तिले कतिसम्म लोन पाउने व्यवस्था छ ?
लोन भनेपछि सबैको झुकाव हुन्छ र यो आवश्यकता पनि हो । वचत गरेपछि त्योसंगै वचतको आधारमा लोनको व्यवस्था पनि हुन्छ । अर्को कुरा यसमा एउटा के पनि भ्रम छ भने विमा गरेपछि त्यसमा जम्मा भएको ९० प्रतिशत लोन पाइन्छ, तर यो गलत हो । उहाँहरुको त्यो गलत बुझाई वा प्रचारप्रसार हो । यसमा के छ भने नेपाल सरकारको विमा समितिले ‘फ्याक्टर’ तयार पारेको हुन्छ त्यसैअनुसार पाउँछ । उहाँहरु के प्रष्ठ हुनुप¥यो भने समर्पण मुल्यको ९० प्रतिशत लोन पाइन्छ । जस्तो कसैले विमा गरेको छ भने त्यो विमा बन्द गर्न खोज्दा १०० प्रतिशत नै पाउँथ्यो भने लोन निकाल्न खोज्दा त्यसको ९० प्रतिशत उसले पाउँछ । यसमा केले असर पारेको हुन्छ भने विमाको अवधिका, ट्रम र योजनले पनि यसमा असर पारेको हुन्छ ।
८. विमा कम्पनीहरुले पैसा लिदा सहज तरिकाले लिने र त्यो फर्ता गर्ने समयमा अनावश्य दुःख दिने गर्छन् भन्ने पनि त आरोप लाग्छ नि ?
गुनासो आउनु स्वाभाविकै हो तर त्यसमा कुनै सत्यता छैन । किनभने हामीले शुरुम नै पोलिसी पेपेर दिँदाखेरि चाहिने सबै कुराहरु उल्लेख गरिदिएका हुन्छौँ । आफ्नो विमा अवधि सकिएपछि पैसा लिन जाँदा अन्तिम किस्ता तिरेको रसिद, शुरुमा विमा गर्दा दिएको फाइल र दावी गर्न आउने मान्छेको नेपाल सरकारबाट मान्यता प्राप्त परिचय कार्ड लिएर आउनु पर्ने छ भनेर पोलिसी पेपरमा उल्लेख गरिएको हुन्छ । यसमा पनि दुई वटा कुरा छ, एउटा विमा समयावधि सकिएपछि पैसा लिने र अर्को भएपछि । विमावधि सकिएपछि पैसा लिने कुरामा कुनै समस्या हुँदैन । सहजै रुपमा लिन सकिन्छ । विमितको मृत्यु भएको खण्डमा केही कागजात वा प्रमाणहरु पेश गर्नुपर्ने भएकाले अलि उहाँहरुलाई झन्जटिलो लागेको हुनसक्छ । यदि कसैको मृत्यु भएको खण्डमा त्यसको मृत्युदर्ता चाहियो र दावी गर्न आउने मान्छेको नागरिकता वा अन्य कुनै परिचय खुल्ने कार्ड, विमाको फाईल, अन्तिम किस्ता तिरेको रसिद र नाता प्रमाणित हुनुप¥यो । कानुनी रुपमा यस्ता कागजातहरु पुरा भएमा त्यस्तो दुःख हुँदैन ।
९. अन्त्यमा विमा कम्पनीहरुले देशको अर्थतन्त्रमा कस्तो टेवा पु¥याएका छन् ?
विमा तथा वित्तिय संस्थाहरुले देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएका छन् । किनेभने विमा अभिकर्ताहरुले संकलन गरेको रकमजति सबै विमा कम्पनीमा आउँछ र त्यो पूँजी विमा कम्पनीहरुले राष्ट्र निर्माणमा लगानी गर्छन् । उठेको रकम १०० प्रतिशत नै यो यो ठाउँमा लगानी गर्ने भनेर सरकारले नीति बनाएको छ । सोही अनुसार नै राष्ट्र बैंकले यति, राष्ट्रिय वाणिज्य बैंकले यति, क वर्गका बैंकले यति लगानी गर्ने भनेर निर्धारण गरिएको हुन्छ । सोही वमोजिम उठेको जति सबै पैसा देश निर्माणमा लागानी हुन्छ । र त्यसले देशको विकासमा महत्वपूर्ण योग्दान पुगेको हुन्छ ।









प्रतिक्रिया दिनुहोस्