धेरै जसोकोे सोचाई हुन्छ बंैकहरु सबै एउटै हुन् । तर बैंकहरु सबै एउटै भएपनि त्यसले प्रदान गर्ने सेवा सुविधाहरु फरक हुन्छन् । ब्याजदर सबै बैंकहरुको लगभग एउटै प्रकृतिका भएपनि सेवा सुविधा कस्ता छन् भन्ने कुराले प्रभाव पार्ने गर्दछ । बैकिङ क्षेत्रमा सरल, सहज र छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न सक्छ भन्ने पनि मुख्य कुरा हो । यसै सन्दर्भमा सिभिल बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएका सेवा सुविधाहरुका बारेमा कोहलपुर शाखा प्रमुख बसन्त रेग्मीसंग मिसनकर्मी यानबी साहुले गरेको कुराकानी :-
- सिभिल बैंकको स्थापना कहिले भयो ? अहिले कति वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ?
सिभिल बैंक २०६७ सालमा औपचारिक रुपमा स्थापना भएको हो । त्यतिबेला नेपालको ३० औँ वाणिज्य बैंकको रुपमा यो बैंक स्थापना भएको
थियो । अहिले बैंकले देशभर एक सय एक वटा शाखाहरु विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ । सबै शाखाहरुबाट एटिएम सहितका अत्याधुनिक सेवा सुविधाहरु दिँदै आएको छ । अन्य ठाउँमा पनि हामी शाखा विस्तारका क्रममा नै छौँ । कोहलपुर ९६ औँ शाखाका रुपमा सञ्चालनमा आएको हो ।
- सिभिल बैंक कोहलपुर शाखाले ग्राहकहरुका लागि के कस्ता सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ?
हामीले आफ्नो सेवा विस्तारका क्रममा गत साउन ०२ गतेदेखि कोहलपुरमा पनि शाखा सञ्चालनमा ल्याएका छौँ । यसक्रममा हामीले आफ्ना ग्राहकहरुलाई सरल र सहज तरिकाले कमर्शियल अथवा वाणिज्य बैंकहरुले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाहरु दिँदै आएका छौँ । आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सबै खाले सेवाहरु सरल, सहज र छिटो छरितो रुपमा ग्राहकहरुसम्म पु¥याउनु हाम्रो मुख्य कर्तव्य पनि हो ।
- कुनै व्यक्तिले सिभिल बैंकमा खाता खोल्न चाहेमा के कस्ता कागजजातहरु आवश्यक पर्छ ?
यदि कुनै पनि व्यक्तिले सामान्य खाता खोल्दा चाहिने भनेको नागरिकता र २ प्रति पासवर्ड साइज फोटो हो । त्यसमा पनि उक्त व्यक्तिको अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुमा खाता छैन भने मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी लगायतका कागजजातहरु लिएर गएमा पनि खाता खोल्न सकिन्छ । त्यस्तै भाडामा बस्नेहरुको हकमा उनीहरुको ठेगाना लगायत अन्य कुराहरुको परिचय खुलेको नहुने भएकाले पहिले–पहिले बैंकहरु बिजुली बत्ति वा खानेपानीको बिल तिरेको रसिद खोज्ने अवस्था हुन्थ्यो । अहिले त्यस्तो छैन । किन भने बाहिरबाट आएर भाडामा बस्ने व्यक्ति पनि कुनै संघ संस्था वा कार्यालयहरुमा काम गर्ने भएकाले उनीहरुको तलबी खाता खुल्छ । त्यसमा तलबी प्रयोजन लगायत अन्य बचतका काम पनि गर्न सकिने हुन्छ ।
- कुनै व्यक्तिले कस्तो खालको खाता खोल्यो भने धेरै लाभ लिन सक्छ ?
खाताको कुरा गर्ने हो भने चल्ती, बचत र मुद्धती खाता हुन्छ । ती मध्ये जुन खाता खोल्दा पनि ग्राहकले उत्तिकै लाभ लिन सक्नु हुन्छ । त्यसमा पनि अर्को एउटा भनेको कल खाता हुन्छ । यसमा बचत र चल्ती दुबैको सुविधा पाइने हुन्छ । अहिले सिभिल बैंकले तत्कालै एउटा एनयुटी डिपोजिट भनेर निकालेको छ । यो भनेको नेपालकै बैंकिङ क्षेत्रमा सबैभन्दा पहिलो पटक लन्च भएको प्रोडक्ट (उत्पादन) हो । यसमा कस्तो हुन्छ भने कुनै व्यक्तिले एक लाख रुपैयाँ तीन वर्षको लागि बंैकमा राख्यो भने उसको वार्षिक डिपोजिट दुई हजार मात्रै हुन्छ । त्यो व्यक्तिले महिनामा दुई हजार जम्मा ग¥यो भने त्यो ‘सटेन पिरियडको म्याचुरिटी’ मा उसले कबुल गरेको जुन रकम छ, त्यो रकम बैंकले भुक्तानी गर्छ ।
- सिभिल बंैकले आफ्ना ग्राहकहरुलाई ब्याज कति प्रतिशत दिने गरेको छ ?
हाम्रो यस सिभिल बंैकको कुरा गर्ने हो भने सबै बचत खातामा साढे ६ प्रतिशत ब्याज दिइरहेको अवस्था छ । मुद्धती खातामा हकमा हेर्ने हो भने ९ दशमलब २ कम्पनीको पब्लिट रेट हो । त्यसमा हामीले ९ दशमलब २५ दिइरहेका छौँ । त्यस्तै अर्को कल खाता भन्ने हुन्छ । यो खाता भनेको ठूला ठूला कम्पनीहरुको डिपोजिट राख्नका लागि बनाइएको हो । यसमा आपसी समझदारीमा डिलिङ हुन्छ । त्यसमा पनि सामान्यतया ४ देखि लिएर ७ प्रतिशतसम्म दिने गरेका छन् बैंकहरु । हामीले पनि त्यसमा ६ प्रतिशत दिएका छौँ ।
- एक पटकमा कति जति ऋण (लोन) लिन सक्ने अवस्था हुन्छ ? अथवा के कस्ता प्रक्रिया हुन्छ ?
ऋण लिनका लागि धेरै जना आउनु हुन्छ । कोही धेरै लिने आउनु हुन्छ भने कोही थोरै । त्यसमा पनि हामीले दिने भनेको उसको धितो मुल्यांकनले कति भ्याउने, आम्दानीको श्रोत के कति हो, यदि तलबी सर्टीफिकेटको आधारमा हो भने उसको तलबले कति कभर गर्ने भन्ने आधारमा हुन्छ । त्यस्तै व्यापार, विजनेशको आधारमा हो, भने के केति कारोबार हुन्छ, मौज्दात कति लगायतका कुराहरुलाई हेर्नु पर्ने हुन्छ । सिभिल बैंक पनि विभिन्न कर्जा शिर्षकहरुमा लोन दिइरहेको छ । जस्तै ः व्यक्तिगत कर्जा, घरकर्जा, अटोकर्जा, कर्पोरेट लोन, माईक्रो लोनहरु पनि गरिराखेको अवस्था छ ।
- तपाइको बैंकमा बिना धितो लोन दिने व्यवस्था छ कि छैन ?
यसमा जुन लघुवित्त कार्यक्रम अन्तर्गतको माइक्रो कर्जा भन्ने हुन्छ । जो व्यक्तिहरु बैंकिङ पहुँच भन्दा बाहिर हुनुहुन्छ, बैंकसम्म आउन भ्याउदैन, बैंकसम्म आएपनि के गर्ने, कस्तो गर्ने भन्ने कुरा भ्याउदैन, जान्दैन, त्यस्तो व्यक्तिहरुको गाउँमै गएर समुह गठन गरेर ५ देखि १५ लाखसम्म कर्जा सुविधा प्रदान गर्ने गरेका छौँ ।
- ग्रामिण क्षेत्रहरुमा सिभिल बैंकको पहुँच कत्तिको छ ?
पहिले विभिन्न कारणहरुले ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्न नसकेपनि अहिले हामीले शहरदेखि ग्रामिण क्षेत्रसम्म आफ्नो पहँुच विस्तार गरेका छौँ । कोहलपुरकै कुरा गर्दा कोहलपुर समग्र रुपमा एउटा शहर भएपनि त्यहाँ भित्र भित्र ग्रामिण बस्तीहरु पनि छन् । त्यहाँ बंैकको पहुँच पुग्न नसेको अवस्था छ । त्यहाँका मानिसहरुलाई बैंक भनेको के हो, बैंकले के काम गर्छ, यसबाट हामीले के फाइदा लिने भन्ने कुरा पनि थाहै छैन । त्यस्तो अवस्थामा हामीले उहाँहरुको गाउँ–ठाउँमै पुगेर त्यसको बारेमा बुझाउने लगायतका जनचेतना दिने कार्यक्रमहरु गरिरहेका छौँ ।
- आगामी दिनमा बैंकको पहुँच, कार्यक्षेत्र विस्तार गर्न के–के गर्नुपर्ला जस्तो लाग्छ तपाईलाई ?
त्यसको लागि सबैभन्दा पहिले नियमित रुपमा घरदैलो कार्यक्रम गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको बारेमा उनीहरुलाई बुझाउने, बैंकमा पैसा जम्मा गर्दा हुने लाभका बारेमा जानकारी गराउने कार्यक्रम गर्ने र उनीहरुका मनमा लागेका लागेका कौतुहल्ताको बारेमा जानकारी दिने जस्ता कार्यक्रमहरु गर्न जरुरी हुन्छ । र त्यो कार्य हामीहरुले गरिरहेका छाँै ।
- न्य बैंकको तुलनामा सिभिल बैंकमा फरक के छ ?
धेरैजसो व्यक्तिहरुको सोचाई के छ भने बंैकहरु सबै एउटै हुन् । तर बैंक सबै एउटै भएपनि त्यसले प्रदान गर्ने सेवा सुविधाहरु त फरक हुन्छन् नि ! ब्याज सबै बैंकले लगभग बराबर नै दिएपनि पैसा राख्न वा निकाल्न कत्तिको सहजता छ । ग्राहकले पाउने सेवा सुविधाहरु कुन क्वालिटीका छन्, सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न सक्ने दक्ष कर्मचारीहरु छन् कि छैनन् भन्ने हुन्छ । ती सबै सुविधाहरु सिभिल बैंकमा भएकाले थोरै भएपनि अन्य बैंकहरु भन्दा फरक छ ।
- अन्त्यमा बैंकहरुले आफ्नो सामाजिक उत्तरदायित्व कतिको पुरा गरेका छन् जस्तो लाग्छ ?
बैंकहरुले सामाजिक उत्तरदायित्व पुरा नगरिकन त अगाडी बढ्न पाउँदै पाउँदैन । किनभने उनीहरुले निश्चित बजेट नै छुट्याइ सकेको हुन्छ । जसरी नेपाल सरकारले वार्षिक बजेट प्रकाशित गर्छ त्यसरी नै सबै बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्नो वार्षिक क्यालेन्डरमा नै बजेट राखेको हुन्छ । त्यो अनुसार नै सामाजिक क्षेत्रमा खर्च गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्