16 July 2024  |   मङ्लबार, साउन १, २०८१

यात्रुको पैसा लुटेर ढुंगामुनी लुकाउने गिरोह पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६  

कोहलपुर ।

यात्रुबहाक बसमा लुटपाट मच्चाउँने गिरोहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

यात्रुबहाक बसमा लुटेको रकम ढुंगामुनी लुकाउने तीन जनाको समुहलाई मंगलबार कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको हो । महेन्द्रनगरबाट कोहलपुर आउँदै गरेको ना ६ ख ९३५६ नम्बरको यात्रुबसमा लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

‘यात्रु लुटिएको जानकारी पाउनेवित्तिकै हामीले सर्च गरेर लुटेराहरुलाई पक्राउ गर्न सफल भएका हौं’ उनले भने, ‘यात्रुको लुटेको पैसा उनीहरुले बिच बाटोमा नै लुकाएको पाइयो ।’ भारतबाट कमाई गरि फर्किएका जाजरकोटका २६ जनाको समुहले महेन्द्रनगरदेखि कोहलपुरसम्म उक्त बस रिजर्व गरेको ल्याएको थियो ।

सोही क्रममा जाजरकोट कुशे गाउँपालिका ०५, का ६५ वर्षिय नर बहादुर सुनारको गोजी काटेर उनीहरुले ४६ हजार ५ सय भारतीय रुपैयाँ लुटेका थिए ।

‘यात्रुहरुले लुटिएको खबर समयमा नै हामीलाई दिएकाले चोरी गर्ने समुहलाई पक्राउ गर्न सफल भयौं’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘आफ्नो घर वरपर पनी कुनै घटना भए तत्काल प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गर्दछु ।’ उनका अनुसार उनीहरुले कोहलपुर आइपुग्नु भन्दा अघि नै पैसा लुटेर लम्की चुहा नगरपालिकाको बलचौर भन्ने ठाउँमा पिसाब फेर्ने बहानामा ढुंगामुनी रकम लुकाइसकेका थिए ।

कोहलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा वेलकोट गाउँपालिका १ कञ्चनपुरका नरेन्द्र खत्री, भुवन वडाल र भिमदत्त नगरपालिका ४ का राजेश थापा रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय चिसापानी कैलालीलाई बुझाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     8:53:26 AM  |