16 July 2024  |   मङ्लबार, साउन १, २०८१

बृहत खजुरा सम्मेलन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

खजुरा, २ कात्तिक
बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा यही कात्र्तिक ६ र ७ गते हुने बृहत खजुरा सम्मेलन हुने भएको छ । समृद्ध गाउँपालिका निर्माणको लागि बृहत खजुरा सम्मेलन हुने भएको हो ।

अहिले सम्मेलनको तीव्र तयारी भईरहेको छ । सम्मेलन सफल पार्नको लागि शिक्षा विज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा बृहत खजुरा विकास सम्मेलन व्यवस्थापन समिति गठन गरिएको छ ।

खजुराको ज्ञानोदय नमूना माविमा हुने सम्मेलनलाई भब्य र शब्य रुपमा संचालन गर्न आफ्ना तयारी अगाडी बढाएको जनाएको छ । सम्मेलनको प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोखरेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको संयोजक केसीले बताए । उनका अनुसार खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाईने छ ।

यस्तै सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न गरिने भएको छ । दिगो र समतामुलक विकासको आयम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न समेत हुने उनको भनाई छ ।

खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको व्यवस्थापन समितिका सचिव किरण ढकालले जानकारी दिए ।

सम्मेलन तयारी समितिका सदस्य पूर्णचन्द्र उपाध्यायका अनुसार २ दिनसम्म संचालन हुने सम्मेलनमा खजुराको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनाबद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुराका आगामी कार्यभार, खजुरामा कृषिः समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत त्यसमाथि टिप्पणी हुनेछ ।

अर्का सदस्य इन्द्रबहादुर थापाका अनुसार हरेक कार्यपत्रको अध्यक्षता छुटाछुटै हुने, कार्यपत्रमाथि विशेष छलफलसहित कार्यपत्र पारित गरिने छ ।

खजुरामा पहिलो पटक हुने लागेको सम्मेलनमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषय विज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको समेत सहभागितामा सम्मेलन हुने जनाईएको छ ।

विकासमा सबै खजुरेलीको साझेदार बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     11:27:33 AM  |