15 July 2024  |   सोमवार, असार ३२, २०८१

धानबालीमै सांसद खरेलले लगाए ट्याक्टर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ३०, २०७६  

नेपालगञ्ज ।

प्रदेश सांसद इन्द्रप्रसाद खरेल (आइपी)ले ट्याक्टर लगाएर धानबाली नष्ट गरेका छन् । बर्षेनी १० देखि १२ क्वीन्टल धान उत्पादन हुने खेतमा उनले मंगलबार ट्याक्टर लगाएर धानबाली नष्ट गरेका हुन् । धान पाक्ने बेला बाला नलागेपछि हरियो धान बालीमा ट्याक्टर लगाएर नष्ट गरेको सांसद खरेलले बताए । ‘एक सय २५ दिनमा पाक्छ भनेको एक सय ५० दिनसम्म नपसाएपछि ट्याक्टर लगाए जोतें’, उनले निराश हुँदै भने, ‘सारा किसानको रुवाबासी छ । धान नहुने निश्चित भएपछि मसुरो छर्ने योजना बनाएर धानबालीमै जोतेका हौं ।’

सनराइज एग्रिकल्चर रिसर्च प्रा.लि. दाङले आयात स्वीकृति लिएर बिक्री वितरण गरेको गरिमा जातको धान बिउ आफ्नो छ कठ्ठा जग्गामा उनले लगाएका थिए । ‘१३ मेट्रिक टन बिउ उक्त कम्पनीले बिक्री गरेको खुलेको छ’, सांसद खरेलले नेपाल सरकारबाट प्रमाणीकरणको धान बिउ भएकाले विज्ञहरुले कमिशनमा आयातको अनुमति दिएको आशंका गर्दै भने, ‘यो गम्भीर मुद्दा भएकाले सदनमा बहस चलाउँछु, विज्ञ र आयातकर्तालाई कानुनी कारवाहीको दायरामा ल्याउने कुरामा लबिङ्ग गर्छु ।’ उनलेसबै किसानलाई क्षतिपूर्ति दिइनुपर्ने उनले बताए ।

सांसद खरेलले लगाएको धान नपसाएपछि केही दिन पहिले नेपाल सरकारका कृषि प्राविधिकलाई खेतमा धान हेराउन लगेका थिए । केही गर्दा पनी धानमा बाला लाग्ने नदेखेपछि उनले अन्तिममा धानबालीमा नै ट्याक्टर लगाएका हुन् । बाँके बर्दियाका किसानले सयौं हेक्टरमा लगाएका धानमा बाला लाग्न सकेको छैन ।

प्रकाशित मितिः बिहिबार, अशोज ३०, २०७६     9:53:51 AM  |