21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

यात्रुलाई तानातान गर्ने १० होटलवाला विचौलिया पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६  

कोहलपुर ।

भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई इलाका प्रहरी कार्यालय जमुनाहाले सीमा नाका जमुनाहाबाट पक्राउ गरेको छ ।

नेपालगञ्जका क्षेत्रका होटल व्यवयासीका विचौलियाले भारतबाट घर फर्किदै गरेका नेपालीहरुलाई तानातान गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिसनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुख दिँदै आएका छन् । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाहरुले जमुनाहामा भारतबाट फर्किएका नेपालीहरुलाई दुख दिन थालेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘यसअघि धेरै पटक सम्झाईबुझाई गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुपरेको हो । होटल व्यवसायीले एजेन्ट राखेर दशैं मनाउन भारतबाट फर्किएका नेपालीहरुलाई दुख दिन थालेपछि १० जनालाई नियन्त्रणमा लिएका छौं ।’

होटलहरुले कमिसनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीहरुलाई दुख दिने गरेका छन् । यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ । एकाविहानै होटलबाट खटाइएका विचौलियाहरु जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीहरुलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ ।

आफ्नो होटलसम्म पु¥याउनका लागि विचौलियाहरुले भारतबाट फर्किँदै गरेका नेपालीहरुलाई तानातान गर्दै आजित बनाउने गरेका छन् । भारतबाट फर्किएका एक नेपालीले भने, ‘कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाहरुले तानेर सताउँछन् ।’ प्रहरी नायव निरीक्षक रिजालले भने, ‘भारतबाट मजदुरी गर्ने नेपालीहरु फर्किरहनुभएको छ । होटलबाट खटिएका व्यक्तिहरुले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहनुभएको छ ।’

भारतबाट फर्किदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पुर्याउन विचौलियाहरुबीच बाझाबाझ नै हुने गरेको छ । ‘हामीले पटक पटक सम्झाउँदा पनि अटेरी गरेपछि नियन्त्रणमै लिएर काबाही गर्नुपरेको छ,’ प्रहरी नायव निरीक्षक रिजालले भने । चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीहरुलाई लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमीमै यहाँका होटलवालाले थप दुख दिने गरेको भारतबाट फर्किँदै गरेका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताए ।

‘नेपाल–भारत सीमानाका जमुनाहामा भने भारतबाट मजदुरी गरेर फर्किँदै गरेका नेपालीहरु यहाँका होटल व्यवसायीहरुबाट पीडित छन् ।’ उनले भने ।

यतिबेला दैनिक करिब ५०० नेपालीहरु भारतबाट दशैं मनाउन नेपाल फर्किरहेको बाँके प्रहरीले जनाएको छ । भारतबाट काम गरी फर्किने नेपालीहरु विहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलियाहरु एकाविहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् ।

यस विषयमा होटल व्यवसायी संघ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन । यहाँका होलटबाट ग्राहक तान्नकै लागि जमुनाहा पुग्ने विचौलियालाई प्रहरीले यसअघि लखेट्दै आएको थियो ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगञ्जका होटल व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह गरिएको बताए । यस विषयमा संघ गम्भीर रहेको बताउँदै उनले भने, ‘यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी संघले लिँदैन ।’ जमुनाहाबाट नियन्त्रणमा लिइएका १० जनालाई जिल्ला प्रहरी कार्यालयमा दिनभर राखिएको थियो ।

नियन्त्रणमा लिएकाहरुलाई सचेत गराएर साँझ मात्र छोडिएको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । ‘नियन्त्रणमा लिएकाहरुलाई सम्झाईबुझाई गर्ने र आगामी दिनमा भन्सार र सीमा क्षेत्रमा यस्ता गतिविधि नगर्ने प्रतिवद्धता गर्न लगाएर साँझ मात्रै छाड्छौं,’ उनले भने ।

चाडपर्वका समयमा आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुँदै आएका छन् । ‘यसलाई रोक्न हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौं । चाडपर्वका बेला कोही पीडित हुन नपरोस् भन्नेमा हामी सचेत र संवेदनशील छौं,’ प्रहरी उपरीक्षक वलीले भने ।

भारतमा काम गरेर चाडपर्व मनाउन घर फर्किने नेपालीलाई नाकामा समस्या नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताउँदै प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न सुरक्षा पोष्टका प्रमुखहरुलाई बिदा नदिएको पनि बताए ।

चाडबाडमा विशेष गरेर बैंक तथा बित्तीय संस्था आसपास, भारतबाट मजदुरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जाँदा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ । त्यसलाई मध्यनगर गरेर बाँके प्रहरीले सुरक्षा व्यवस्था चुस्त दुस्त राखेको बताएको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     10:01:27 AM  |