3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

अतिविपन्न परिवारलाई दशै मनाउन राहात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकाले एक पछि अर्को गर्दै सृजनशिल र उदाहरणिय कामहरुको सुरुवात गर्न थालेको छ । गाउँ गाउँमा सिंहदरबार आएको जनतालाई अनुभुति हुने गरी नगरपालिकाले सृजनशिल र उदाहरणिय कामलाई जोड दिइरहेको छ । पछिल्लो समय बाँसगढी नगरपालिका विकासको गतिलाई निरन्तरता दिदै जनताको लागि स्थानिय सरकार पनि छ है भन्ने महशुस हुने गरी जनताका आवश्यकता सँग पनि जोडिन थालिसकेको छ । दशै, तिहार मान्न नसक्ने अतिविपन्न परिवारको दशैमा बाँसगढीको स्थानिय सरकार सामेल भएको छ । जसअनुसार नगरपालिकाले आर्थिक अभाव कै कारण दशै तिहारको
जोहो गर्न नसक्ने अतिविपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरेको छ । राहत वितरण कार्यक्रम वडा नम्बर ५ बाट सुरु गरिएको हो ।

नगर क्षेत्रमा रहेका विपन्न मध्ये पनि अतिविपन्न परिवारलाई छनोट गरि चाडपर्व मान्न २५ किलो चामल, १ लिटर तेल, १ किलो नुन र १ हजार ५ सय नगद वितरण गरिएको थियो । नगरपालिकामा रहेका ९ वटा वडाबाट १०÷१० जना अतिविपन्न परिवारलाई छनोट गरि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । सबैले दशै मनाई रहेको अवस्थामा साँझ बिहान छाक टार्न नसक्ने अतिविपन्न परिवारका लागि पनि स्थानिय सरकार भएको महशुस हुने गरी कार्यक्रमको सुरुवातीमा नगरपालिकाका ९० जना अतिविपन्न परिवारलाई दशै मान्न राहत वितरण गरिने नगर प्रमुख सालिकराम अधिकारीले जानकारी दिए ।

उनले नगरपालिका भित्र रहेका सबै अतिविपन्न परिवारलाई समेट्न नसके पनि सकारात्मक कामको थालनी गरिएको र सबैले सकारात्मक रुपमा बुझिदिन आग्रह गरे । उनले गरिव, असहाय, एकल महिला, जेष्ठ नागरिक लगायतका समुदायलाई पनि विभिन्न कोणबाट सम्बोधन हुने गरी काम गरिरहेको र निरन्तर सबैलाई समेट्ने गरी अघि बढ्ने उनले बताए ।

बाँसगढी नगरपालिकाले सुरु गरेको राहत वितरण कार्यक्रमलाई नगर क्षेत्रका राजनितिक दलहरुले पनि सकारात्मक रुपमा लिएका छन् । नेकपा बाँसगढी नगर अध्यक्ष तिलक हमालले नगरपालिकाले महत्वपुर्ण काम गरी अतिविपन्न परिवारमा थप उर्जा थपेको बताए । नेपाली काँग्रेस बाँसगढी नगर सभापति गोबिन्द्र प्रसाद रेग्मीले बाँसगढी नगरपालिकाले सुरु गरेको काम स्रहानिय भएको तर सकारात्मक सोचका साथ अतिविपन्न परिवार छनोट गरिनुपर्नेमा जोड दिए । समाजवादी पार्टीका केन्द्रिय सदस्य केशव राज पौडेलले पनि नगरपालिकाले सकारात्मक कार्यक्रम लागु गरेको बताए ।

राप्रपा संयुक्तका सुर्य बहादुर सिंहले बाँसगढी नगरपालिकाले महत्वपुर्ण कामको सुरुवात गरेको बताए । राजनितिक दलका प्रतिनिधीहरुले चाडवर्पमा हुने खानेले तडकझडक गर्ने र नहुने टुलुटुलु हेर्ने अवस्थामा एक आपसमा मिलेर दशै मनाउन नगरपालिका जोडिएकोमा खुसी व्यक्त गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी वडागत रुपमा राहत वितरण गर्न थालिएको हो । आईतबार वडा नम्बर ५, वडा नम्बर ६, ८ र २ नम्बर वडामा वितरण गरिएको छ भने बाँकी वडामा आज सोमबार वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     8:50:46 AM  |