अहिलेको दुनियाँमा अझ हाम्रो जस्तो तेश्रो विश्वका देशमा पूर्ण रुपले पूँजीवादको विकास संभव छैन । किनभने विश्व साम्राज्यवादले सामन्तवादी उत्पादन प्रणाली भित्र घुसपैठ गर्दछ र वित्तिय पूँजीवादको रुपमा त्यो फैलिन्छ । त्यसले गर्दा हाम्रो जस्तो अल्पविकसित देशमा पूर्ण रुपले औद्योगिक पूँजीवादको विकास संभव छैन । त्यही कारणले नै नेपालमा नयाँ जनवादी तरिकाले अर्थात सर्वहारावर्गको नेतृत्वमा मात्रै पूँजीवादी क्रान्ति सम्पन्न गरेर समाजवाद तर्फ जान सकिदैन भन्ने निश्कर्ष सहित आजको राज्यव्यवस्था र राज्यप्रणालीलाई आत्मसाथ गरिएको हो भन्ने कुराको सबैले हेक्का राख्न जरुरी छ ।
आज पनि हामी जतिसुकै स्वाधिनता र स्वतन्त्रताको कुरा गरे पनि नेपाली अर्थव्यवस्थामा अन्तर्राष्ट्रिय साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवादको जुनखालको हस्तक्षेप रहेको छ , त्यसलाई निषेध गरेर पूर्ण रुपमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न नसकेरै केही नयाँ जनवादी तरिकाले र केही पुरानै जनवादी तरिकाले नेपालमा एक हद सम्मको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ । यसैको परिणाम स्वरुप सामन्तवादको अवशेष सहितको, साम्राज्यवादको शोषण उत्पीडनका रुपहरु रहेको (जसलाई विकृत र परनिर्भर पूँजीवाद पनि भनिन्छ) पूँजीवाद नेपालमा देखा परेको छ ।
नेपालको अहिको अवस्था र राज्यको चरित्रलाई वैद्य माओवादी र विप्लव माओवादीहरुले यो नोकरशाही दलाल पूँजीवाद मात्रै भएकाले यसका विरुद्ध नयाँ जनवादी चिनियाँ मोडेलको क्रान्ति गर्नु पर्छ भन्दै आइरहेका पनि छन् । जुन दश वर्षे जनयुद्धमा तत्कालिन माओवादीको कार्यनीतिक नारा नै थियो । तर पछिल्लो समयमा विश्व साम्राज्यवादको बदलिदो रुप र नेपालको राजनीतिक शक्ति सन्तुलनको अवस्थाले तत्कालिन माओवादीको त्यो कार्यनीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सक्ने परिस्थिति
बनेन । त्यही संश्लेषण गरेर नै उनीहरुले बाह्र वुँदे सहमति गरे र नेपालमा जनयुद्ध जनक्रान्तिमा रुपान्तरण भयो । त्यसको परिणाम नै नेपालमा एक प्रकारको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो ।
नेपालमा सम्पन्न भएको यो क्रान्तिले नेपाली राज्यको स्वरुपलाई बदलिदियो । चरित्रलाई बदलिदियो । अर्थात राज्यको अर्धसामन्तवादी चरित्र र एकात्मक स्वरुपलाई बदलिदियो । तर अर्ध औपनिवेशिक अर्थ चरित्रलाई विश्व साम्राज्यवाद र दलाल पूँजीवादले वित्तिय स्वरुपमा आफूलाई रुपान्तरण गरेर आफ्नो हस्तक्षेप गर्ने हतियार अझै बलियो बनाउँदै लियो । किनभने उनीहरुले के बुझेका छन् भने, नेपाल गरिब छ । नेपालमा अभाव छ । वित्तिय श्रोत छैन । उत्पादक शक्ति बलियो छैन । आर्थिक रुपमा परनिर्भरता छ । यसकै फाइदा उठाएर आर्थिक सहयोगका नाममा आफ्ना शर्त र स्वार्थहरु पुरा गर्न सकिन्छ भन्ने रणनीतिक योजनामा रहेको पाइन्छ ।
यस्तो अवस्थामा अब नेपालमा शुद्ध राष्ट्रिय औद्योगिक पूँजीवादको विकास संभव छैन । वित्तिय साम्राज्यवाद र दलाल पूँजीवादलाई विस्थापित गर्ने तरिका भनेको समाजवादी उत्पादन सम्बन्धले मात्र हो । त्यो भनेको नेपालमै रहेको उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास गर्नु नै हो । तर पूँजीको त आवश्यकता पर्छ नै । त्यसका लागि त्यही दलाल र नोकरशाही पूँजीलाई अधिकतम प्रगतिशील पूँजीवादमा रुपान्तरण गराउने प्रयत्न गर्नु पर्दछ । त्यो जति सम्म संभव हुन्छ त्यहाँ सम्म गर्नु पर्दछ । त्यसका निम्ति राज्यसत्ता आफ्नो हातमा भएको बेला सदन र सरकारबाट संभव भए जति प्रयास गर्नु पर्दछ । त्यो भनेको राष्ट्रिय पूँजीवादको निर्माण गर्न राज्यका नियम कानून बदलेर भए पनि गराउन सक्नु पर्दछ । उत्पादक शक्तिको विकास नभई अब हामीले परम्परागत ढंगले होइन कि देश भित्र रहेका युवा जनशक्तिहरुलाई उत्पादक शक्तिको रुपमा विकास गर्ने र अन्तर्राष्ट्रिय वित्तिय सहयोगलाई प्रविधिमा रुपान्तरण गर्ने । प्रविधि,उत्पादक शक्ति, ज्ञान र सिपलाई संयोजन गरेर उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास गर्ने ।
यसबाट देश भित्र उत्पादकत्व वृद्धि हुन्छ । राज्यले वृद्धि भएको उत्पादनलाई अतिरिक्त मुल्यको सिद्धान्तका आधारमा उत्पादन लागतमा मुल्य जोडेर वस्तुको बजारिकरण गरिदिनु पर्दछ । यसबाट उत्पादक शक्तिको आत्म विश्वास बढ्छ । आत्म विश्वास बढ्नु भनेको थप उत्पादन गर्ने प्रेरणा बढ्नु हो । यसबाट उत्पादक शक्तिहरुको स्वयम आर्थिक वृद्धि हुन्छ । नागरिकको आर्थिक वृद्धि हुनु भनेको राज्यको आयश्रोत वृद्धि हुनु हो । यसले समृद्ध नेपाल , सुखी नेपालीको सपना पुरा गराउन सहयोग पु¥याउँछ । हाल चाहेमा र आत्मबल भएमा यो गर्न सक्ने ठाउँमा सरकार रहेको छ । यति बेला नेकपाले साच्चिकै चाहने हो र समाजवाद उन्मुख राज्यव्यवस्था बनाउने हो भने त्यस खालको विचार, कार्यनीति र अर्थनीति बनाउनु आवश्यक छ ।
माक्र्सवादको धेरै थोरै ज्ञान हुनेलाई थाहा हुनु पर्छ कि पूँजीवादी उत्पादन सम्बन्धको विकास नभई स्वयम उत्पादक शक्तिहरु पनि बलियो बनाउन सकिदैन । अर्थात उत्पादन र उत्पादक शक्तिको विकास गर्न र बढीभन्दा बढी उत्पादनशील बढीभन्दा बढी राष्ट्रिय स्वरुप दिने प्रयत्न गर्नु पर्छ । तर के सजकता अपनाउनु जरुरी छ भने पूँजीवाद भन्ने यस्तो चिज हो जो एउटा निश्चित सीमामा पुगे पछि नचाहेर नै त्यो देश भित्र रहेछ भने नोकरशाही पूँजीवादमा र विदेशमा रहेको भए वित्तिय साम्राज्यवादमा बदलिने खतरा हुन्छ । त्यसैले राष्ट्रिय पूँजीवादको विकास गर्दा पनि त्यसका सीमाहरु निर्धारण गरिनु पर्दछ । एउटा निश्चित सीमा सम्म विकास भएपछि त्यसमा समाजवादका भ्रुणहरु रोप्ने कार्य शुरु गरिहाल्नु पर्दछ ।
त्यसैले अबको नेपाली क्रान्तिको कार्यनीति पनि पहिलो चरणमा पूँजीवादी उत्पादक शक्तिको विकास गर्ने,त्यसको निश्चित सीमा सम्म विकास भए पछि समाजवादको भ्रुण रोप्ने काम गर्दै समाजवादी क्रान्ति सम्पन्न गरेर समाजवादी राज्यव्यवस्था स्थापना गर्ने नयाँ विचार सहितको ठोस गर्नु आवश्यक छ । यसका लागि हिजो नयाँ जनवादी बुझाईले वा बहुदलिय जनवादी बुझाईले मात्र अबको क्रान्तिको कार्यदिशा निर्धारण गर्न सकिदैन । परिस्थिति , राज्यको चरित्र र शासकीय स्वरुप अनुसार क्रान्तिको कार्यदिशा निर्धारण गर्ने कुरा सामान्य बहसले मात्र पुग्दैन । नेकपा भित्र नेता बनेका तथा नेता बनाइएकाहरुको दिमागी मथिङ्गल शुरु हुनु आवश्यक छ ।










प्रतिक्रिया दिनुहोस्