कोहलपुर ।
बाँकेको कोहलपुरमा जनविश्वास बहुमुखी सहकारी संस्थाले सस्तो पसल सञ्चालनमा ल्याउने भएको छ । सहकारीले आफ्नो सेयर सदस्य तथा कोहलपुर क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण समुदायहरुको लागि दैनिक उपभोग्य सामानहरु सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने उद्देश्यले निर्माण गर्न लागेको छ । वि.स. २०५५ सालमा स्थापना भएको सहकारीले २१ वर्ष पछि सस्तो पसल सञ्चालन गर्ने अवधारण ल्याएको हो । सहकारीका अध्यक्ष होम प्रकाश सुवेदीले सुपथ मुल्य पसलबाट खाद्य सामग्रीका अलावा दैनिक जिवनमा आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामग्रीहरु उपलब्ध गराउने उद्देश्य निर्माण गर्न लागेको बताए ।
‘बजार मुल्य भन्दा सस्तो दरमा दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराउने छौ’ उनले भने, ‘सहकारी मार्फत सञ्चालन गरिने पसलमा सेवाग्राहीहरुले दैनिक उपभोग्य खाद्य सामग्रीका साथै श्रिङ्गारका सामग्रीहरु समेत सुपथ मुल्यमा खरिद गर्न सक्नेछन ।’ आउँदै गरेको दशैको घटस्थापनालाई लक्षित गरि सञ्चालनमा ल्याउने उनको भनाई थियो । यस्तै सहकारीकाउपाध्यक्ष शेषकान्त शर्माले २ करोडको लागतमा सस्तो पसल सञ्चालन गर्न लागेको बताए । ‘सहकारीतर्फ ४० प्रतिशत र बाह्य शेयर सदस्यहरुबाट ६० प्रतिशत लगानीको ब्यवस्था मिलाइएको छ’ उनले भने, ‘सस्तो पसलमा लगानी गर्न चाहाने व्यक्तिहरुले ५० हजार देखि १० लाख सम्म सेयर खरिद गर्न सक्नेछन् ।’ आफ्नो सहकारीमा रहेका १५ सय सेयर सदस्यहरुलाई सहकारीको कार्ड मार्फत विशेष छुटमा सामाग्रीहरु उपभोग गर्न पाउने उनको भनाई थियो ।