29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

विश्व बैंकको पाईलट परियोजना नेपालगञ्जमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६  


नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका विश्व बैंकको कार्यक्रमका लागि छनौंटमा परेको छ । विश्व बैंकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई छनौट गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए । पाईलट परियोजना अन्तर्गत विश्व बैकका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि अध्ययन सुरु गरेको छ ।

विश्व बैंकको टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुले स्वागत गरेका थिए । टोलीले सोमबार नै जनप्रतिनिधी र कर्मचारीहरुसँग अन्तरक्रिया गरि कार्यक्रमको बारेमा जानकारी गराएको थियो । विश्व वैंकको विशेषज्ञ टोलीले नेपालगञ्जमा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व, यसभित्रका राम्रा पक्ष र कमजोर पक्षको मुल्याङ्कन समेत गर्ने बताएको छ । पहिलो चरणमा टोलीले चारदिनसम्म नेपालगञ्जमा रहेर वित्तिय व्यवस्थापनका बारेमा जानकारी लिनेछ ।

करिब दुई महिनाभित्र प्रारम्भिक मस्यौदा तयार गरि सार्वजनिक गरिने टोली प्रमुख वेसेटले बताए । टोलीले मुल्याङ्कनका क्रममा बजेटको समग्र पक्ष, सम्पत्ति र दायित्वको व्यवस्थापन, श्रोत परिचालन, लेखा परीक्षण लगायतका विषयमा अध्ययन गर्नेछ । मुल्याङ्कनका लागि ३१ वटा सूचक र ९४ वटा उपसूचक राखिएको बंैकको टोलीले जनाएको छ । विश्व बैंकले गर्ने मुल्याङ्कन आगामी दिनमा विश्व बैंकमात्रै नभएर अन्य दातृ निकायसँग सहकार्यका लागि उपयोगी हुने टोलीले जनाएको छ । आर्थिक अनुशासन, श्रोतको व्यवस्थापन सेवा प्रवाहमा अध्ययन केन्द्रीत हुनेछ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     7:50:35 AM  |