कोहलपुरमा बालबालिकाको चरम श्रम शोषण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाभित्र बालबालिकाको चरम श्रम शोषण भएको सरोकारवालाहरुले बताएका छन् । बिहीबार कोहलपुर नगरपालिकाले आयोजना गरेको ‘राष्ट्रिय बाल अधिकार दिवस २०७६’ बाल बिवाह तथा बाल बेचविखन विषयक अन्तरक्रियामा बोल्ने सरोकारवालहरुले उक्त कुरा बताएका हुन् ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार संरक्षण समितिका संयोजक सञ्जुकुमारी चौधरीले कोहलपुरको वडा नं. ११ र १२ मा बालबालिकाहरुको चरम श्रम शोषण भएको बताइन् । ‘होटलहरुमा १८ वर्ष मुनीका बालबालिकाहरु प्रयोग गरिरहेका छन्’ उनले भनीन्, ‘होटल व्यवसायीहरुलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता जनाए पनि उक्त प्रतिबद्धता कार्यान्वयन गरेका छैनन् ।’ कोहलपुर नगरपालिकाका होटल, ग्यारेज, चिया पसल र रेष्टुरेण्टमा बालबालिकाको चरम शोषण भएको उनको भनाई थियो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक नारायणी वलीले कोहलपुरको चप्परगौडीका ग्यारेजहरुमा काम गर्ने साना बालबालिकाहरु काम गरिरहेको बताइन् । ‘उनीहरु शिक्षा लिनबाट पनि बञ्चित रहेका छन्’ उनले भनीन्, ‘परिवारको गरिबी र विपन्नताका कारण खानपान र पढाइमा समस्या उत्पन्न हुन थालेपछि बालबालिकाहरू श्रममा लाग्ने गरेका छन् ।’ अभिभावकहरुलाई सन्तान जन्माएर मात्र नहुने उनको भनाई थियो । कार्यक्रममा कोहलपुरका विद्यालयका बालबालिका तथा शिक्षकहरुको पनि उपस्थित रहको
थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २७ गते शुक्रबार