1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

डुडुवामा लार्भा नष्ट गर्ने अभियान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६  

नेपालगञ्ज ।

बाँके लगायत देशका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिन थालेपछि बाँकेका स्थानीयतहहरुले रोगको संक्रमणबाट बच्नका लागि लार्भा नष्ट गर्ने अभियान शुरु गरेका छन् । डुडुवा गाउँपालिकाले गाउँपालिकाअन्र्तगत वडाका गाउँहरुमा लार्भा नष्ट गर्ने अभियान शुरु गरेको हो । अभियान अन्र्तगत बुधवार वडा नं. ४, ५ र ६ मा लार्भा नष्ट गर्ने औषधी छर्किएको गाउँपालिकाले जनाएको छ । बाँकी अन्य वडाहरुमा पनि औषधी छर्कने कार्य भईरहेको छ । अभियान अन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी छर्कनुका साथै सर्वसाधारणमा सचेतना अभिबृद्धिका कार्यक्रम समेत गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

उनका अनुसार वडादेखि गाउँपालिका स्तरका सबै सरोकारवालालाई यसबारे सचेतना अभिमुखीकरण शुरु गरिएको छ । आज शुक्रबार गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधी, शाखाप्रमुख, प्रहरी, स्वास्थ्य क्षेत्रमा सक्रिय संघ सस्थाहरुको सहभागितामा अन्र्तक्रिया गरिने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ । शाखा प्रमुख बुढाका अनुसार यस्तो सचेतना कार्यक्रम वडास्तरमा पनि आयोजना गरिने छ । कार्यक्रममा जनप्रतिनिधी, वडास्तरका विद्यालय, आमा समुह, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी, स्थानीय अगुवाहरुलाई समाबेश गरि छलफल गरिनेछ । कार्यक्रम पश्चात उनीहरुले गाउँ समुदायमा सचेतना फैलाउने विश्वास लिइएको छ । औलो रोगको समेत उच्चजोखिममा रहेको डुडुवा गाउँपालिकामा लामखुट्टेका लार्भा बढी सक्रिय भएकाले त्यसलाई नष्ट गर्न औषधी छर्कने अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले यो अभियानले डेंगु रोगको संक्रमण फैल्नबाट जोगाउने भन्दै अबप्रत्येक टोल समुदायमा यसबारे जनचेतना फैलाउने कार्यक्रमलाई प्रभावकारी बनाउन अभियान नै शुरु गरिएको बताए । अहिले मौसमी रुपमा देशैभरि फैलिएको भाइरल ज्वरोका विरामी डुडुवामा बढी देखिएका छन । गाउँपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य संस्थाहरुमा अहिले दैनिक रुपमा ३५० बढी विरामी उपचारका लागि आउने गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले शुरु गरेको निशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत संचालित दुई वटा प्रयोगशालामा टाइफाइड, मलेरिया परिक्षण गराउने विरामीहरुको संख्या समेत बढ्दै गएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     9:21:06 AM  |