बाँसगढी, बर्दिया ।
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १ सय ६ औं जन्म जयन्तीको अवसरमा बर्दियाको बाँसगढीमा वृक्षारोपण गरिदै छ । नेपाली काँग्रेस बर्दिया प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (क) को आयोजनामा बाँसगढीमा वृक्षारोपण गर्न लागिएको हो । क्षेत्र नम्बर १ (क) का सभापति मानबहादुर ओलीका अनुसार बाँसगढी नगरपालिका ८ मा रहेको रामजानकी माविको परिसरमा वृक्षारोपण गरिने छ । ‘विश्वेश्वरप्रसाद कोइरालाको १ सय ६ औं जन्म जयन्ती मनाउने क्रममा वृक्षारोपण गर्न लागिएको हो’ उनले भने, ‘यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’
कार्यक्रममा केन्द्रीय प्रतिनिधीको रुपमा नेता शंकर गिरी आउने कार्यक्रम तय भएको काँग्रेसका क्षेत्रीय प्रतिनिधी अमृत देवकोटाले जानकारी दिए । उनका अनुसार विद्यालय परिसरमा एक सय भन्दा बढी विभिन्न प्रजातीका विरुवाहरु रोपिनेछ । यसैबिच राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए । विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।
भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो । विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।
साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम् जीवनी सङ्ग्रह प्रकाशित छन् । नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्