कृष्ण ओली । कोहलपुर ।
आफ्नो क्षेत्रमा रहेका सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्तव भित्र पर्दछ । तर बाँकेको कोहलपुरमा भने सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको साटो जिम्मेवार व्यक्तिकै उपस्थितीमा क्षती पु¥याइएको छ । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको कोहलपुर जमुनाहा सडकखण्ड अन्तरर्गत कोहलपुर बजारका राखिएका सडक बार (रेलिङ्ग) काटिएका छन् । केही दिनअघि कार्यबहाक नगर प्रमुखको जिम्मेवारी सम्हालेकी उपप्रमुख सन्जु कुमारी थारुको उपस्थितीमा नै रातारात रेलिङ्ग काटिएको हो । कार्यबहाक नगर प्रमुखको उपस्थितीमा कोहलपुर उद्योग बाणिज्य संघले रातारात तीन चरणमा एनटिभी रोडदेखि बिद्युत् रोडसम्म सडकको दुबैतर्फका रेलिङ्गहरु काटेको थियो ।
अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण गर्दा एडिबीले बजार क्षेत्रमा सुरक्षाको लागि भन्दै सडकको दुवै भागमा रेलिङ्ग लगाएको थियो । सम्बन्धित निकायको अनुमती बिना नै कोहलपुर उद्योग बाणिज्य संघले चोरीको शैलीमा रातारात रेलिङ्ग काटेर लगेको हो । यसबारे कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन । संघका महासचिव तेजप्रसाद अधिकारीले भने सबै सरोकारवालाहरुको छलफलपछि रेलिङ्ग काटिएको बताए । ‘व्यवसायीक हकहितका लागि व्यवसायीहरुको अनुरोधमा सबैसँग छलफल गरेर काटिएको हो’ उनले भने, ‘यसबारे नगरपालिका र सडक कार्यालयसँग समन्वय गरेर सबैको सहमतीमा काटेका हौं ।’
कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारुले रेलिङ्ग काट्ने ठाउँमा आफु समेत पुगेको स्वीकार गरिन् । ‘आफु गएको कुरालाई गएको छैन भनेर ठग्न मिल्दैन, गएको नै हुँ’ मिसन टुडेको टेलिफोन सम्पर्कमा उनले भनिन्, ‘तर कोहलपुर उद्योग बाणिज्य संघले नगरपालिकाको मौखिक अनुमतीमा नै रेलिङ्ग काटेको हो ।’ ‘नगर प्रमुख, उपप्रमुख संघका अध्यक्ष र पदाधिकारीहरुबिचको बैठकबाट रेलिङ्ग काट्न दिने मौखिक सहमती भएको हो’ उपप्रमुख थारुले भनिन्, ‘नगरप्रमुख निर्देशन दिएर काठमाडौं गएपछि निर्देशन अनुरुप नै रेलिङ्ग काटिएको थियो ।’ तर कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सडकका दुवैतर्फ राखिएका रेलिङ्ग हटाउनको लागी संघलाई अनुमती नदिएको बताए ।
‘ट्राफिक प्रहरीको सहजताका लागि सडकमा रहेका डिभाइडरहरुलाई ब्यवस्थापन गर्ने बारे छलफल भएको थियो’ उनले भने, ‘रेलिङ्ग हटाउने बिषयमा भने कुनै छलफल भएन ।’ उनका अनुसार सडकमा राखिएका रेलिङ्ग हटाउने बिषयमा संघले प्रस्ताव ल्याएपनि त्यसबारे कुनै आधिकारीक निर्णय भएको छैन । उपप्रमुखले नगरप्रमुखको निर्देशनमा रेलिङ्ग काटेको बताएपनी रावतले भने कसैलाई कुनै किसिमको निर्देशन नदिएको बताए । यता कार्यक्षेत्र पर्ने सडक डिभिजन कार्यालय नेपालगञ्जले भने रेलिङ्ग कसले र किन काटेको हो भन्नेबारे जानकारी नभएको जनाएको छ ।
कार्यालयले आफुहरुको अनुमती बिना सडक पेटीमा राखेका पाइप (रेलिङ्ग) काटेर क्षती पु¥याउनेको पहिचान गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र काटेको छ । निमित्त डिभिजन प्रमुख नेत्र विलास पौडेलले काटेको पत्रमा भनिएको छ । ‘रत्नराजमार्गको कोहलपुर बजारको इलाका प्रहरी कार्यालय देखि दक्षिणतिर सडकको पुर्व तर्फको सडक पेटीमा राखिएको जि.आई. र रेलिङ्ग पाईपहरु कार्यालयको अनुमती बिना धेरै स्थानमा काटि सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पु¥याएको हुँदा सो कार्य गर्ने गराउने व्यक्तिहरुलाई कारबाही गरिदिनुहुन अनुरोध छ ।’
यसैबारेमा रेलिङ्ग काटिएका क्षेत्रका व्यवसायीहरुलाई बुझ्न मिसन टुडेको टिम आइतबार दिउँसो पुग्दा उनीहरुले औपचारीक रुपमा कुरा गर्न चाहेनन् । ‘आफ्नो अगाडि रेलिङ्ग काटेको बिहान पसल खोल्न आउँदा मात्रा थाहा पायौं’ नाम नबताउँने सर्तमा एक व्यवसायीहरुले भने, ‘रेलिङ्ग हुँदा पनी व्यवसाय चलेकै थियो, काट्दा पनी चलेकै छ । व्यापार संघले किन काट्यो हामीलाई थाहा हुने कुरा भएन ।’ यसबारे संवाददातालाई ती व्यवसायीले अन्य कुरा संघमै गएर सोध्न आग्रह गरे ।