16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

मृगौला पीडितलाई आर्थिक सहयोगका लागि सबैसँग अनुरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ६, २०७६  

सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ बामे पोखरा निवासी ४० वर्षिया मृगौला पीडित बिरबल बिकलाई मलेसियाबाट २७ हजार १ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । बामे ३ का कुमार पुनको नेतृत्वको टोलीले मलेसिया स्थित सुपर फुड कम्पनीमा काम गर्ने साथीहरूबाट आफुले कमाएको केही पैसा उठाएर पठाएका हुन् ।

गाउँघरको समाजसेवी भएको र बिगत जनयुद्ध कालमा समेत दुःख गरेका वि.क.लाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको पुनले जानकारी दिए । ६ महिना देखि दुबै मृगौला पीडित भएका बिकको अहिले काठमाडौको टिचिङ अस्पतालमा उपचार भईरहेको छ । दुबै मृगौला पीडित बिकले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको लागि सबैमा याचना गरेका छन् ।

मृगौला पीडित बि.क. तत्कालीन नेकपा माओवादी वडा नम्बर ३ बामे वडा अध्यक्ष समेत हुन् । उनी २०५८ साल देखि पुर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर समेत रहेका थिए । पीडित बि.क.लाई केही समयमा अगाडि बनगाड कुपिण्डे नगरपालिका र अन्य व्यक्तिहरुले पनि सहयोग गरेका थिए । उनी तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्वमा जनमुक्ति सेनाका रुपमा कार्यरत भएका थिए । सेनामा हुँदा मुख र पिठ्युमा गोली समेत लागेको उनले बताएका छन् । बि.क.का अहिले उनकी श्रीमति पार्वती बि.क. बनगाड कुपिण्डे नगरपालिका वडा नंम्बर ३ की दलित महिला वडा सदस्य समेत हुन् । उनका दुई छोरा र दुई छोरी छन् ।

हाल मजदुरी गरी घरखर्च चलाउँदै आएका विकका दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरेका हुन् । सरकारले मृगौला पीडितको डायलोसिस गर्दा शुल्क नलाग्ने भनेपनि आफुले समयमै डायलोसिस गर्न नपाएको बताए । उनले आफ्नी श्रीमती पार्वती कामीको लक्ष्मी बैक सल्लीबजारको खाता न ०६९२३००९८३० र आफ्नो मोवाईल नंम्बर ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरे ।

प्रकाशित मितिः सोमवार, साउन ६, २०७६     11:25:38 AM  |