नियात्रा
– अछुत कोपिला
अन्ततः सुदूर पश्चिमको कञ्चनपुरको यात्रा तय भयो, त्यही दिन बिहान २१ असार २०७६ गते । कारण, लक्ष्मीको विवाह र विदाको अवधि थियो चार दिनको । कार्यक्षेत्र कोहलपुरबाट तीन जना साथी थियांै हामी । म, बसन्ती र निशा । दुईजना चौराहा गयौं मध्यान्ह साढे १२ बजेतिर । निशा सिम्मलघारीबाट आउने तय भएको थियो । धनगढी जाने गाडीका स्टाप यात्रु आफ्नो गाडीमा बसाल्ने करसत गरिहेका थिए । हामीलाई पनि आफ्नो गाडीमा तान्न निकै कसरत गरे उनीहरुले । निशा भर्खर हिडेकी रहिछिन् सिमलघारीबाट । उनी नआईसकेकोले अलि ढिलै हुने भयो ।
केही दिनदेखि राम्ररी घाम लागिरहेको थिएन् । निशा आउन्जेल केही खाने मनसायले चौराहा नजिकै एकजना दिदीको पसलमा गयौं । दुईजना महिला थिए । मैले मःम र बसन्तीले चाउमिन खाने सहमति भयो । अर्डर पनि गरियो । उनीहरुले दिदी बहिनी रहेछन् । साउनी बहिनी र दिदी दशबिगाहा अस्पतालमा उपचारको लागि आएकी रहिछन् खजुराबाट । निकै कुराकानी भयो । चिनजान पनि भयो । केटाकेटी देखेर होला ती दिदीले सोधिहालिन् हाम्रो सम्बन्धको बारेमा । अलि लजाउदै बसन्ती भनिन्, मेरो श्रीमान हुुनुहुन्छ । उनले प्रतिप्रश्न गरिन्, के गर्नु हुन्छ बावु ? मैले जागिर गर्छु भने । अरु धेरै कुरा भए । हाम्रो अर्डर आइपुग्यो, टेबलमा । खादै झण्डै आधा घण्टा गफियौं हामी ।
निशा आइपुगेकी थिइनन् । दुई तीनओटा त गाडी नै छुटे धनगढी जाने । लामो समयको व्यग्र प्रतीक्षापछि निशा चौराहा पुगिन् । चौराहाबाट पिकअप भ्यानमा २ बजेर ४३ मिनेटमा हिड्यौं । हामी लगायत १५ जना थियौं । महिला २ जना अन्य सबै पुरुष । चौराहाबाट हिडे लगत्तै ठूलो बोर्डमा धनगढी १ सय ६९ किलोमिटर लेखिएको थियो । मेरा अगाडि बसेका अपरिचित दाइलाई सोधें ‘कति घण्टा लाग्न धनगढी पुग्न ?’ उनले ‘४ घण्टा लाग्छ’ भने । गाडी लाइन मै काम गरेका रहेछन् लामो समय । दाङबाट बिहानै आएका रै’छन् । बाटोमा विभिन्न विषयमा गफगाफ गर्दै गयौं । चौराहाबाट ७५ किलोमिटर पार गरी साढे ४ बजेतिर कर्णाली चिसापानी पुग्यौं ।
लामो समयदेखिको प्रतीक्षाको गन्तव्य थियो कर्णालीपुल । नेपालको सबैभन्दा लामो पुल । सामान्य ज्ञानमा पढेको मात्र थिएँ । कोहलपुर आएदेखि आउन खोजेको थिएँ तर मेसो मिलेको थिएन । कतिपय कुरामा अनुकुल मिल्नु पर्दाे रहेछ । यसपाली भने लक्ष्मीको विवाहले अवसर जुटायो । मनमनै एकदम खुसी थिएँ ।
अलिअलि वर्षा भइरहेको थियो । पुलमा युवायुवतीहरु सेल्फी खिच्दै थिए । पुलमा बाक्लो आवातजावत थियो । कोही कर्णालीको उर्लदो भेलसँग त कोही त्यहाँका गोहीसँग हेरेर मज्जाले रमाइरहेको देख्दा जाउजाउ नलागेको होइन् तर गइन । पुलमा सेल्फी खिच्ने धित नमरुन्जेल अन्यत्र जान मन लागेन । यस पटक गोही हेर्ने अवसर जुरेन । फर्किदा धोको मेट्ने आशा सहित त्यहाँबाट हिड्यांै हामी । माछा नै यहाँका प्रमुख आकर्षण रहेछन् । माछा खाँदै लाग्यौं आफ्नो गन्तव्यतिर । अधिकांश बाटो जंगलमा पर्दो रहेछ । पाटे बाघको लागि प्रसिद्ध बर्दिया राष्ट्रिय निकुञ्जका विभिन्न चेकपोष्टमा निश्चित समय निर्धारण गरिएको रहेछ । सडकका विभिन्न पोष्टरमा बाघका चित्र टाँगिएको थियो । बाघ, जरायो र बदेल हिड्ने यात्राको क्रममा खुलेयाम भेटिदा रै’छन् । प्रत्यक्ष रुपमा बाघ नदेखेकोले बाघ देख्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । तर बाँदर देखियो अधिकांश ठाँउमा । एक ठाउँमा बदेल देखियो ।
समथर र चौडा सडक भएपछि ‘सावधान’ र ‘बढी दुघर्टना क्षेत्र’ लेखेका पोष्टरले भने मन चिसो बनाउथ्यो । बाबिरो मष्टोसँग यात्रा सफलताको कामना गरें । अक्सर लामो यात्रापूर्व म बाबिरो मष्टो सम्झिने गर्छु । कर्णालीमा प्रचालित मष्टो परम्परा अन्तर्गत बाबिरो मष्टो मैले मान्ने कुल देवता हुन् । हाम्रो यात्राले कैलालीको सिमा सुरु गरिसकेको थियो । ‘ घोडाघोडी ताल क्षेत्रमा यहाँहरुलाई हार्दिक स्वागत छ ।’ घोडाघोडी भन्ने बित्तिकै मलाई एकताका निकै चर्चित गायक राजाराम भाटले गाएको ‘घोडाघोडी ताल’ बोलको गीतको सम्झना आयो । सानो छदा काकाको क्यासेटमा गीत सुनेको अहिले पनि ताजै छ । बाटो धेरै ठाउँमा हामीलाई ती दाइले जानकारी गराउँदै गएका थिए ।
घोडाघोडीका बारेमा संक्षिप्त इतिहास सुनाए । परापूर्व कालमा घोडाघोडीमा राजाको दरबार थियो । प्राँकृतिक दृष्टिले निकै मनमोहक र सुन्दर यो राजाको शिकार गर्ने, घुम्ने र आनन्द लिने ठाँउ हो । ठूलो भू–भागमा फैलिएको यस क्षेत्र घुम्न निकै समय लाग्छ । त्यसैले राजा आपूm र रानी घोडामा चढेर यस क्षेत्रको भ्रमण र अवलोकन गर्दथे । त्यसैले कालान्तरमा यसको नाम नै घोडाघोडी ताल रहन गएको हो । घोडाघोडी कैलाली जिल्लाको पर्यटकीय क्षेत्र पनि हो । यस क्षेत्रमा पर्यटन विकासको निकै सम्भावना रहेको छ । त्यसैले स्थानीय तहले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । आर्थिक समृद्धिसँग पनि जोड्न सकिन्छ यसलाई भन्ने विषयमा केही समय छलफल पनि भयो यात्रा कै क्रममा ।
साँझ ५ बजे सुदूर पश्चिम प्रदेशको राजधानी गोदावरी पुग्यौं । केही छिन् त्यसै रोकियांै हामी । सुदूर पश्चिमको राजधानी यँही त हो मैले सोधें । ती साथीले टाउको हल्लाउदै हो भन्ने संकेत गरे । अब भने पक्का भएँ म । केही प्यासेन्जर गोदावारी मै ओर्लिए । गोदावारी संघियता पछि राजधानी तोकिएको हो । केही अघि राजधानीको विषयलाई निकै विरोध पनि भएको थियो । त्यसका अघिल्ला दिनसम्म पनि नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई लिएर प्रतिपक्षले सातौं पटकसम्म संसद चल्न दिएका थिएनन् । संघियता लागु भएदेखि सात वटै मध्य प्रदेश संसद यदि लामो समय स्थगित भएको सुदूर पश्चिममा पहिलो घटना हो सायद । विकासको प्रमुख पुर्वाधारको रुपमा रहेको सडक विस्तारको चरणमा रहेकोले निकै अव्यवस्थित महशुस भइरहेको थियो । चार लाइनका सडक विस्तारको क्रमम चलिरहेको थियो । विकासका दृष्टि विकासमा पछि परेको सुदूर पश्चिमका राजधानीको क्षेमा सडक, विद्युत र स्वास्थ्यका संरचना बन्दै छन् ।
ती दाइले गोदावारीबाट अघि बढेपछि सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको क्षेत्रतिर देखाउदै जानकारी दिए । मैले गाडीको झ्यालबाट हेर्दै हो भने । प्रतिउत्तरमा मैले जुम्लामा यस्तै ३ सय सैया ठूलो अस्पाताल रहेको सबैलाई जानकारी गराएँ । कुनैबेला औषधि नपाएर अकाल मृत्युवरण गर्नु पर्नेमा कर्णालीमा यसको स्थापना कोशे ढुंगा सावित भएको छ । जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कर्णाली प्रदेश र सुदूर पश्चिम क्षेत्रलाई कार्य क्षेत्र बनाएर काम गरिहरहेको छ । सुदूर पश्चिमका बाजुरा सहित तीन जिल्लामा यसको कार्यक्षेत्र छ । साथै उनले बाटो बिस्तारको क्रममा सडक छेउ मै अतिक्रमण गरेर बसेका घर डोजर लगाएर भत्काउदाका स्थानीयका चित्कार पनि सुनाए । ‘भाइ अहिले सम्झिदा पनि आँखाबाट आँशु झर्छन् मेरा । त्यस बेला यति रुवाबासी चल्यो की धेरै स्थानीय त चलिरहेको डोजर समाउँथे । कोही आफ्नो भाग्यलाई सराप्थे ।’ अतिक्रमण गरेर बसेको भत्काईएका घरले मुआब्जा नपाएको उनले जानकारी दिए । कच्ची सडकका छेउछाउमा डोजर लगाएर भत्काइएका घरका भग्नावशेष प्रष्टै देखिन्थे ।
साढे ६ बजे धनगढी पुग्यौं । ती दाइको घर धनगढी मै रहेछ । जाने बेला उनको परिचय मागें । नाम सुकदेव लामा रहेछ । अभिवादन सहित छुटियौं । उनले नै हामीलाई अटोमा चढाएर आपूm बिदा भए । निकै सहयोगी रहेछन् सुकदेव दाइ ।
धनगढी बजारबाट २० रुपैयाको अटो किरायमा तीन जना सात बजेतिर डोके बजार पुग्यौं । त्यति बेला सात बजिसकेको थियो । फेरि अर्को अटो समाएर हाम्रो गन्तव्यतिर लाग्यौं । धेरै पहिले पडाहबाट आएकाले डोकामा व्यापार गर्ने भएकाले डोके बजार नाम राखिएको रहेछ । खासगरी सुदूर पश्चिमका केही पहाडी जिल्ला र जुम्ला लगायतका कर्णाली जिल्लाबाट पनि व्यापार गर्न आउँदा रहेछन् । अटो ड्राईभरले ‘पहिला जुम्लाका धेरै मान्छेहरु यहाँ डोकोमा व्यापार गर्थे रे । त्यसैले यहाँको नाम नै डोके बजार रहेको हो’ भने । करिब १ घण्टाको अटो यात्रामा पछि राती ८ बजे हामी गन्तब्य स्थानमा पुग्यौं ।