15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

वडाध्यक्षलाई हातपात,प्रहरीलाई ढुंगामुडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २, २०७६  

जुम्ला । अबैध जडिबुटी चोरीमा निकासीमा संलग्न रहेको भन्दै पातारासी गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष काली बहादुर रावतमाथि स्थानीयले हातपात गरेका छन् । पातारासी गाउँपालिकाको लुम गाउँका स्थानीयले वडा अध्यक्ष रावतलाई हातपात गर्नुका साथै अभद्र व्यवहार गरेका हुन् । स्थानीयले उनलाई बागजाले सामुदायिक वनको अवैध जडिबुटी सेतो चिनि (खिरौँला) चोरी निकासीमा संलग्न रहेको आरोप लगाएका छन् । उनीहरुले अध्यक्षको राजीनामा माग्दैे गाउँ निकाला गर्ने चेतावनी समेत दिएका छन् ।

जनप्रतिनिधि नै अवैध धन्दामा लागेको आरोपमा सिंगो गाउँ नै वडाध्यक्षको विरुद्धमा खनिएको हो । यता वडाध्यक्ष कालिवहादुर रावतले अवैध जडिबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । ‘स्थानीयबाटै वनमा पाइने जडिबुटीको अवैध चोरी निकासी भएको सूचना पाएपछि दुई पटक प्रहरी सहित वनमा गए’ उनले भने, ‘डिल्लीचौर प्रहरीको रोहोबरमा दुईपटक वनमा गएर जडिबुटीका बारेमा जानकारी लिएको थिए ।’ वडाध्यक्ष रावतका अनुसार स्थानीयले लगाएको ओराप सत्यसावित भएमा विगो सहित पदबाट राजिनामा दिन तयार रहेको बताएका छन् ।

अहिले उनी गाउँले बाट खतरा रहेको भन्दै आफन्तको घरमा बास बस्न थालेका छन् । उनले गाउँले बाटै असुरक्षा भएको भन्दै प्रहरीमा सुरक्षा माग गरेका थिए । निकै आक्रोशित स्थानीयले सुरक्षाको लागि डिल्लीचौर प्रहरी चौकिबाट गएका प्रहरी माथि लुम गाउँका स्थानीयले ढुङ्गामुडा गरेका छन् । वडाध्यक्ष माथि हातपात भएको विषयमा बुझन गएका प्रहरी माथि स्थानीयले ढुङ्गामुडा गरेका हुन् । डिल्लीचौर प्रहरी चौकिका इन्चार्ज प्रेमवहादुर थापाले स्थानीयले आफुहरु माथि ढुङ्गामुडा गरेको बताए ।सुरक्षाका लागि गएको प्रहरी टोलि माथि ढुङ्गामुठाका साथै हातापताको प्रयास भएको थापाले जानकारी दिए । थापाको नेतृत्वमा लुम गाउँ गएका पाँच जना प्रहरी माथि स्थानीयले ढुङ्गामुडा भएको हो । गाउँमा पुगेको प्रहरी टोलीलाई स्थानीयले १ किलोमिटर लखेटेका थिए ।

प्रकाशित मितिः बिहिबार, साउन २, २०७६     11:31:42 AM  |