नेवाः देय दबूको नगर अधिवेशन



नेपालगन्ज ।

नेवाः देय दबूको प्रथम नगर अधिवेशन र पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाल सम्वत् राष्ट्रिय सम्वत्, नेवाः भाषा, साहिन्य, संस्कृति र परम्पराको जगेर्ना गरौं ः मुलुकलाई सम्वृद्धशाली बनाऔं’ भन्ने नाराका साथ भव्य रुपमा सम्पन्न नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको प्रथम नगर अधिवेशन र अधिवेशनबाट निर्वाचितहरुको पदस्थापन पनि सम्पन्न भएको हो । सोमवार राती अबेरसम्म नेवाः देय दबू बाँके जिल्ला कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्वाचन कमिटीका संयोजक पूर्ण लाल चुकेले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

अधिवेशनबाट अध्यक्ष पदमा दिपेन्द्र कुमार जोशी र सदस्यहरुमा रुपक श्रेष्ठ, विष्णु कक्षपति, स्वेता शाक्य, पुष्पा देवी श्रेष्ठ, विष्णु श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ र कृष्ण प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अन्य पदहरु र तीन जना सदस्यहरुको चयन भने कार्यसमितिको बैठकले चयन गर्ने जनाइएको छ । यसअघि जेष्ठ नागरिक राम रत्न श्रेष्ठको प्रमुख आतिथ्य र नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुनल श्रेष्ठको विशिष्ट आतिथ्य तथा नेवाः देय दबू बाँके जिल्ला कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वि.सं. २०७६ को क्यालेण्डर विमोचन गरिएको थियो ।

पहिलो पटक प्रकाशित उक्त क्यालेण्डरमा नेपाल सम्वत्का महिनाहरु पनि समावेश गरिएको सल्लाहकार पूर्ण लाल चुकेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ८ गते बुधबार