1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

बन्दले जनजिवन प्रभावित, राँझामा बम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५  

कोहलपुर ।
पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बिहीबार देशभर परेको छ । सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा नदेखिएपनी बन्द प्रभाव चाही देशभर देखियो । बन्दका कारण आमनागरिकहरुले सास्ती पाएका थिए । विभिन्न माग पूरा गराउने नाममा विभिन्न समुहले नेपाल नै बन्द गराउने कार्य गलत भएको भन्दै नागरिकहरुले बन्दलाई सधैको लागि बन्द गर्नुपर्ने बताएका छन् ।

बन्दका कारण बाँकेको जनजिवन समेत आंशिक रुपमा प्रभावित भएको थियो । बिहानैबाट निजी सवारी साधन निर्वाध रुपमा चलेपनी सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव पर्यो । जिल्लामा छोटो दुरीका सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका थिए । बाँकेबाट बाहिरिने लामो दूरीका सवारी साधन भने चल्न सकेनन् । शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको थियो । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको हो । बिहीबार साँझबाट बन्द फिर्ता भएसँगै जनजिवन समेत सामान्य बन्दै जान थालेको छ । बन्दमा कुनै घटना घट्न नदिन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । शहरदेखि गाउँसम्म ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो भने, नेपाली सेनाले समेत सडकमा पैदल गस्ती गरेको थियो ।

बिहिबार बिहानै नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चौकमा बम फेला परेको थियो । विमानस्थल छेउमा नै राखिएको केट्ली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । बम राखिएको खबर पाएलगत्तै नेपाली सेनाको बम डिष्पोजल टोली पुगेको थियो । बम राखेको सूचना पाउने वित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रुहरु, राँझा चोक लगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो ।

सडकमा राखिएको बम सेनाको टोलीले खेतमा लगेर निष्क्रिय पारेको हो । नेपाल सरकार मन्त्री परिषद्को बैठकले केही दिनअघि विप्लव समूहको नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै विप्लवको गतिविधिमा निगरानी बढाएको बाँके प्रहरीले मुख्य सडकमै बम राख्ने व्यक्तिको भने पहिचान गर्न सकेको छैन् ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५     7:02:20 AM  |