20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

वडा कार्यालय र दलित संग्राहलयको शिलन्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन तथा दलित संग्राहलयको शिलन्यास गरिएको छ । बुधबार कार्यालय भवन र संग्राहलयको प्रदेश नं. ५ का कृषि, भुमि, सहकारी मन्त्री आरती पौडेल, नगर प्रमुख लुट बहादुर रावत तथा उप–प्रमुख सन्जु कुमारी थारुले संयुक्त रुपमा शिलन्यास गरेका थिए ।

वडा अध्यक्ष कर्णसिंह बुढा क्षेत्रीले ४५ लाखको लागतमा निर्माण हुन गइरहेको आधुनिक कार्यालय भवन एक बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । हाल वडा कार्यालयले घर भाडामा लिएर नागरिकलाई आफ्नो सेवा दिइरहेको छ ।

संघिय संसदको १५ लाख तथा कोहलपुर नगरपालिकाको १० लाख रुपैयाँ लागतमा दलित संग्रालय बन्न गइरहेको बताइएको छ । दलितको कला र संस्कृति बचाउने लक्ष्यका साथ संग्राहलय बनाउन लागिएको हो ।

संग्रहालयमा दलित समुदायका पुख्र्यौली, मौलिक र परम्परागत सीपबाट बनेका सामाग्रीहरुको संग्रह गरिने वडा अध्यक्ष बुढा क्षेत्रीले जानकारी दिए ।

संग्राहलयमा दलित समुदायको ऐतिहासिक, साँस्कृतिक, सामाजिक लगायतका विविध पक्षबारे गाउँमा आउने पर्यटक एवं नयाँ पुस्तालाई बुझ्न तथा जानकारी लिन सजिलो हुनेछ । संग्राहलयमा दलित समुदायका मादल, आरन चलाउने सामाग्री, सारङ्गी, बाजागाजा राखिने छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     9:56:34 AM  |