नेपालगन्ज ।
नेपाली लोकगीतमा बिद्यावारिधी (पिएचडी) गरेकी अमेरिकन नागरिक अना स्टेर र चर्चित लोकगायक चन्द्र शर्माबीच नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा दोहोरी घम्साघम्सी भएको छ । अमेरिकन नागरिकले राम्रोसँग दोहोरी गायको देख्दा दर्शक दङ्ग परेका थिए ।
देशकै चर्चित लोकदोहोरी गायक चन्द्र शर्मासंग अनाले लामै समय दोहोरी खेलिन् । एक अर्कालाई ब्याङ्गग्य गर्दै दुबै जनाले दोहोरी गाएका थिए । उनीहरुलाई उपस्थित दर्शकहरुले नाचेर साथ दिएका थिए । आइतबार नै महोत्सवमा दर्शकलाई गायिका अनिता चलाउनेले पनी छमछमी नचाएकी थिइन् । युवा पुस्ता माझ चर्चित कालीप्रशाद बास्कोटाले सबैको मन जिते ।
करिश्मा ढकालको नृत्य बिशेष रह्यो । महोत्सव सांस्कृतिक उप–समितिका संयोजक तपेन्द्र शाहका अनुसार सोमबार महोत्सवमा मनोज गजुरेल, रुपक डोटेल र खुमन अधिकारी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सव आगामी २९ गतेसम्म चल्नेछ ।
महोत्सवमा मनोरन्जनका साथै व्यवसायीक कारोवार समेत भइरहेको प्रचार प्रसार उप–समितिका संयोजक टंकबहादुर धामीले जानकारी दिए । उनका अनुसार अटोमोवाईल, खाद्यान, लत्ताकपडा जस्ता सामाग्रीहरुको स्टलमा मानिसहरुको भिड लागेको छ ।