कृष्ण ओली । कोहलपुर ।
ठूलो सहरी केन्द्रका रुपमा विकास हुँदै गइरहेको बाँकेको कोहलपुरमा अत्याधुनिक र व्यवस्थित बधशाला निर्माण हुने भएको छ । पिपुल पब्लिक प्राइभेट पार्टनरसिप (‘फोर पी’) मोडलमा अत्याधुनिक पशु बधशाला बन्ने भएको हो ।
पहिलो पटक यस क्षेत्रमा जनताको साझेदारीमा बधशाला निर्माण हुन थालेको हो । बधशालालाई व्यवस्थित तरिकाले सञ्चालन गर्दै दिगो रुपमा सञ्चालन गर्ने उद्वेश्यका साथ ‘फोर पी’ मोडलमा निर्माण गर्न लागिएको बताइएको छ । अत्याधुनिक र व्यवस्थित पशु बधशाला निर्माणको लागि प्रदेश ५ सरकारले चालु आर्थिक बर्षमा एक करोड ९७ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिसकेको छ । बधशाला निर्माणको लागि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
उक्त समितीमा मासु व्यवसायी, किसान, पशु सेवा केन्द्र, विभिन्न स्थानीय सरकारल गायतको सहभागिता रहेको छ । ‘सरकारले अन्य स्थानमा बनाएका बधशाला अव्यवस्थित र अलपत्र परेको बधशालाको अवस्थाबाट पाठ सिकेर कोहलपुरमा ‘फोर पी’ मोडलमा बनाउन खोजेका हौं’ नगर प्रमुख रावतले भने, ‘यसका लागि आवश्यक तयारी समेत गरिसकेका छौं, यो मोडल अनुसार सरकारसँगै मासु व्यवसायी, उत्पादक किसान र उपभोक्तालाई समेत समावेश गराइनेछ ।’ सरकारसँगै बधशालाको हिस्सेदार किसान र नीजि क्षेत्रसमेत बन्नेछन् ।
‘खसी उत्पादन गर्ने किसान, निजी क्षेत्र समेत हिस्सेदार बन्नेछन्’ रावतले थपे, ‘बधशाला निर्माणपछिसमेत दिगो राख्न यो मोडलले काम गर्नेछ ।’ अत्याधुनिक पशु बधशाला निर्माणको लागि कोहलपुर नगरपालिकाले वडा नम्बर १२ मा एक बिगाह ३ कट्ठा जग्गा समेत छुट्याइसकेको छ । कोहलपुर क्षेत्र जिल्लाको केन्द्रमा पर्ने भएकाले मासु आपूर्तीका लागि सहज हुने भएपछि यहाँ बधशाला निर्माण गर्न लागिएको कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य भिम बहादुर नेपालीले जानकारी दिए ।
‘बधशाला निर्माण तथा सञ्चालनका लागि जिल्लाका स्थानीय सरकार प्रमुख तथा संघ संस्थासँग विभिन्न चरणमा छलफल समेत गरिसकिएको छ’ उनले भने, ‘सबैले सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ, बधशाला निर्माणको लागि प्रदेश सरकारले बिनियोजन गरेको रकमको आधा बाँकेका स्थानीय तहहरुले छुट्याउनेछन् ।’ बधशाला निर्माणको प्राविधिक सहयोग हेफर इन्टरनेशनलले गरिरहेको छ । हेफरका बजार विकास विज्ञ प्रकाश केसीले ‘फोर पी’ मोडलमा जाँदा प्रत्यक्ष रुपमा उत्पादक किसान र उपभोक्तालाई समेत सहभागी गराउन सकिने बताए ।
उनका अनुसार खसी मात्र काट्न मिल्ने बधशाला बनाउन २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उत्पादकहरुसमेत यसको हिस्सेदार बन्दा बधशाला व्यवस्थित मात्र नभई यसबाट आउने लाभको पनि उत्पादकहरु हिस्सेदार बन्ने उनको भनाइ रहेको छ । कोहलपुरमा बन्न गइरहेको बधशालामा दैनिक पाँच सय वटा खसी काट्न मिल्नेछ । ‘फोर पी’ मोडलमा बधशाला बन्ने भएपछि उत्पादक किसान, निजी क्षेत्र र सरकारले समेत रकमको जोहो गर्न थालिसकेका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाले समेत बधशाला निर्माणको लागि भनेर चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । बढ्दो सहरिकरणसँगै नेपालगन्ज र कोहलपुरमा जनसंख्या बढ्दै गइरहेको छ । यस्तै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको कोहलपुरबाट अन्यत्र पनि मासुजन्य पदार्थ सप्लाई गर्न सहज हुने भएकाले पनि प्रदेश सरकारले अत्याधुनिक बधशाला निर्माणमा चासो देखाएको हो । बधशाला निर्माणपछि उपभोक्ताले अहिलेकै मूल्यमा स्वस्थ मासुजन्य पदार्थको उपभोग गर्न पाउने बताइएको छ ।