20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मनाइयो अन्तराष्ट्रिय शान्ति दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५  

नेपालगन्ज/  अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा नेपालगन्जमा शुक्रबार शान्ति सद्भाव दौड गरिएको छ ।

वातावरण तथा बालअधिकार संरक्षण केन्द्र (इन्प्रोक) को आयोजनामा नेपालगन्जको पुष्पलालचोकदेखि वीपीचोकसम्म शान्ति सद्भाव दौडमा जिल्लास्थित विभिन्न धर्मगुरु, मानवअधिकारकर्मी, प्रहरी प्रशासनका प्रमुख र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

दौडको समापन समारोहलाई सम्वोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै लाग्नु पर्ने बताए । उनले यस्ता गतिविधिले आपसी एकता र सद्भावमा वृद्धि हुने उल्लेख गरे ।

नेपालगन्जमा सामाजिक सद्भाव र आपसी एकता कायम राख्ने उद्धेश्यका साथ दौड आयोजना गरिएको इन्प्रोकका अध्यक्ष तेजबिक्रम शाहले जानकारी दिए ।

उच्च अदालत वार एशोसिएयशन नेपालगञ्जका सचिव चित्र शाहीले जिल्लाका शान्ति सुरक्षा, सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सबैका भूमिका आवश्यक रहेको बताए ।

यस्तै सोही दिवसकै अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपाल युवा परिषद, बाँके शाखा र मानव र वातावरणको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको थियो । त्यसैगरि मानव अधिकार तथा शान्ति समाजले पनि दीप प्रज्वलन गरी सो दिवस मनाएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम व्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले शान्ति सन्देश फैलाउन दीप प्रज्वलन गरिएको बताए ।

प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५     7:52:39 AM  |