20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जनप्रतिनिधिको प्रथामिकतामा परेन वार्षिक समिक्षा बैठक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १, २०७५  

नेपालगन्ज/  बाँकेका जनप्रतिनिधिको प्राथामिकता जिल्लाको वार्षिक समिक्षा बैठक नपरेको पाइएको छ । आइतबार जिल्ला समन्वय समिति बाँकेको वार्षिक समीक्षा कार्यक्रम नेपालगन्जमा आयोजना गरिदा सो बैठकमा बाँकेका सांसददेखि स्थानीय तह प्रमुख उप–प्रमुखको प्राथामिकतामै सो बैठक पर्न नसकेको हो ।

जिल्ला समन्वय समितिका बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बाँकेका दुई पालिकाको उपस्थिति नै रहेन भने अन्य पालिकाका प्रमुख उप–प्रमुखको प्राथामिकता मै सो बैठक नपरेकोे कारण उनीहरुको उपस्थिति नै देखिएन ।

पालिकाले आफ्नो क्षेत्रमा वर्ष भरीमा गरेको विकास निर्माण तथा कार्यक्रमको बारेमा जानकारी गराउने तथा भएका काम कारवाहीको बारेमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सो वार्षिक समीक्षा कार्यक्रममा प्रमुख उप–प्रमुख तथा प्रमुख प्रशाशकिय अधिकृत अनिर्वाय उपस्थिति हुनैपर्ने प्रवाधान छ ।

स्थानीय सरकार सञ्चालन कार्यविधिको दफा ९३ (ञ) ले दिएको अधिकार अनुसार हरेक वर्षको एक पटक जिल्लाका सबै पालिकाहरुको कार्यक्रमहरुको प्रगति तथा अवस्थाको बारेमा जानकारी गराउने गरी वार्षिक समिक्षा कार्यक्रम हुने भएपनि बाँकेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाले भने सहभागिता नै जनाएनन् ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीबास्तवले बार्षिक समिक्षा कार्यक्रममा बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघका सांसद र सवै पालिकालाई उपस्थितिको लागि खबर गरिए पनि दुई पालिकासहित कुनै पनि सांसदको प्राथामिकतामा नपरेको गुनासो व्यक्त गरे । उनले आफुले पनि व्यक्तिगत तवरले सबैलाई खबर गरेको बताए ।

सो कार्यक्रममा बैजनाथ गाउपालिकाका प्रमुख मानबहादुर रुचाल, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, खजुराका उप प्रमुख एकमाया विके, जिल्ला समन्वय समितिका उप–संयोजक ज्ञानेन्द्र चौधरी, जिल्ला समन्वय समितिका सदस्यहरु, तथा प्रशाशकिय प्रमुख मात्र उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति बाँकेका समन्वय अधिकारी हरि प्याकुरेलले स्वागत तथा समिक्षा बैठकको उदेश्यमाथि प्रकाश पारेको सो कार्यक्रममा विभिन्न ६ वटा पालिकाका प्रमुख प्रशाशकिय अधिकृतले आ–आफ्नो प्रस्तुती गरेका थिए । -सदरलाइन

प्रकाशित मितिः सोमवार, अशोज १, २०७५     7:51:16 AM  |