19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

यातायात कार्यालय भेरीका सेवाग्राहीहरु मर्कामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १४, २०७५  

तिलक गाउँले: नेपालगन्ज/  यातायात व्यवस्था कार्यालय नेपालगन्जले गह्रौं सवारीसाधन अर्थात हेवी ईक्विपमेन्टको लाईसेन्सका लागि फर्म भर्न निश्चित ड्राईभिङ सेन्टरबाट प्रशिक्षण लिएको सिफारिस अनिवार्य गरेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।

प्रशिक्षण केन्द्रबाट ड्राईभिङ सिकेको सिफारिस ल्याउनुपर्ने प्रावधान आर्थिक चलखेलका लागि भएको भन्दै सेवाग्राहीहरुले आपत्ति जनाएका छन् ।

प्रशिक्षण केन्द्रको सिफारिस अनिवार्य हुनुपर्ने प्रावधानका कारण वर्षौदेखि हेवी ईक्विपमेन्ट चलाउन पोख्त भएकाहरु पनि फर्म भर्नबाट बञ्चित हुने अवस्था आएको छ । प्रशिक्षण केन्द्रहरुलाई पोस्ने र तिनीसँगको मिलेमतोमा सेवाग्राहीबाट रकम असुल्ने नियतले यस्तो नियम बनाइएको सेवाग्राहीहरुको आरोप छ ।

यातायात कार्यालय नेपालगन्जमा वर्षौंपछि हेवी ईक्विपमेन्टको लाईसेन्सको फर्म खुलेको छ । बर्षौदेखि हेवी ईक्विपमेन्ट चलाईरहेकाहरु सयौंको संख्यामा दूरदराजबाट फर्म भर्न नेपालगन्ज आएका छन् ।

तर प्रशिक्षण केन्द्रको सिफरिस आवश्यक पर्ने प्रावधानले गर्दा उनीहरु अन्योलमा परेका छन् । सिफारिसका आधारमा नभई दक्षताका आधारमा परीक्षामार्फत लाईसेन्स वितरणको व्यवस्था गरिनुपर्र्ने उनीहरुको माग छ ।

यातायात कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख कमलराज गौतमले पनि नियम अव्यवहारिक भएको स्वीकार्दै आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएकाले सोझै फर्म भर्न सक्ने व्यवस्था गर्न नसकिएको बताए ।

उनले सबैले फर्म भर्न पाउने व्यवस्था गर्न आफूले विभागसँग सम्पर्क गरिरहेको पनि जानकारी दिए । निर्माण व्यवसायीहरुले पनि फर्म भर्न नै प्रशिक्षण केन्द्रबाट सिफारिस चाहिने नियम तर्कसंगत नभएको बताएका छन् ।

उनीहरुले हेबी ईक्विपमेन्ट चलाउन निपुण चालकहरुलाई सिफारिस नभएकै आधारमा फर्म भर्न नदिने व्यवस्था अव्यवहारिक भएको बताए । देशभर करिब ४० हजारको संख्यामा हेवी ईक्विपमेन्ट चालक रहेको अनुमान छ । जसमध्ये अनुमानित करिब ५ हजारसँग लाईसेन्स भएको हेवी ईक्वीपमेन्ट चालकहरुको भनाई छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १४, २०७५     7:38:41 AM  |