कोहलपुर/ कोहलपुर बैंकर्स क्लबको आयोजनामा शुक्रबार कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको छ । सो कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले क्लबका अध्यक्ष डिल्लीराज भुषाललाई रगतको पोका हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।
‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ५३ जना बढिले रक्तदान गरेको एनसीसी बैंक कोहलपुरका शाखा प्रवन्धक तथा कोहलपुर बैंकर्स क्लबका सस्थापक सदस्य बसन्त कुमार रेग्मीले जानकारी दिए । कार्यक्रममा क्लबका कोषाध्यक्ष रविन कुमार भट्टले स्वागत मन्तब्यसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका कोहलपुर नगरपालिका प्रमुख रावतले रक्तदान मानवीय सेवासँगै सामाजिक कार्य भएकोले रगतदान गर्नुपर्ने बताए ।
प्रमुख रावतले रगत अभावमा अस्पतालका शैयामा छट्पटाई रहेका व्यक्तिहरुको कुनै एक व्यक्तिले दिएको थोरै रगतबाट ज्यान जोगिने वा उसले पुर्नजीवन पाउने भएकाले रगत दान गर्नु पुण्य गरेजस्तै हुने बताए ।
उनले भने–‘कुनै एक व्यक्तिले दिएकोे रगतले अर्को व्यक्तिको ज्यान जोगिन्छ वा उसले पुर्नजीवन पाउँछ भने हामीले रक्तदान किन नगर्ने ? रगतदान जीवन दान हो ।’ उनले बैंकहरुले आर्थिक कारोवारसँगै समाजिक तथा मानविय कार्य गरेको भन्दै प्रशंसा गरे । साथै नगरपालिकाले यस क्षेत्रका बैंक तथा वित्तिय संघ–संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न चोको पनि बताए ।
यस्तै कोलपुर वडा नं.११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले रगतदान जीवन दान भएकाले रगतदान गर्न आवश्यक रहेको बताए । साथै उनले मन्दिरमा पूजा गर्नु भन्दा रगतदान गर्दा पुण्य प्राप्त हुने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बैंकहरुले आर्थिक कारोवारसँगसँगै सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै खुसि व्यक्त गरे । साथै उनले यस्ता सामाजिक तथा मानविय कार्यहरु गर्न आवश्यक रहेको बताए ।
क्लबका अध्यक्ष डिल्लीराज भुषालको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा विभिन्न बैंक तथा वित्तिय संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्