विवादका कारण ज्ञानोदयको अधिवेशन अनिश्चित



कोहलपुर/  कोहलपुर कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयको अधिवेशन विवादका कारण अनिश्चित बनेको छ ।

वर्तमान कार्यसमतिले आफू पक्षकालाई मनोमानी ढङ्गले सदस्यता वितरण गरी संस्थालाई काँग्रेसीकरण गर्न खोजिएको आरोप लागेको छ । १७ औं वार्षिक साधारण सभा तथा अधिवेशन भई रहदा निर्णय नगरिकनै डेढ सय साधारण सदस्य थप गरी वर्तमान कार्यसमितिले संस्थालाई काँग्रेसीकरण गर्न खोजेको पुस्तकालयका एक आजिवन सदस्य बताए ।

उनले २०७५ साउन १ गतेको कार्यसमितीको बैठकले साधारण सदस्य र आजिवन सदस्य माग गर्ने निवेदन उपर छलफल गर्दा आजिवन सदस्य मात्रै वितरण गर्ने निर्णय गरिएकामा निर्णय बेगर डेढ सय सदस्य थप गरेर पुस्तकालयमा राजनीतिकरण गर्न खोजेको बताए ।

यसै बिच शनिबार भएको ज्ञानोदय पुस्तकालय तथा श्रोत केन्द्रको साधारण सभा अधिकाशं सदस्यले बहिस्कार गरेका थिए । निर्णय बेगर थपिएका साधारण सदस्यलाई खारेज पछि मात्रै आफुहरु अधिवेशनमा सहभागी हुने उनीहरले बताएका छन् ।

आफुहरुले पटक पटक ध्यानकर्षण गराउँदा समेत वर्तमान कार्यसमिति निकास तिर लाग्नुको सटा झन समस्या उल्झाउन लागिपरेको उनीहरुले दावी गरे । उनीहरुले निर्णय बेगर थप गरिएका साधारण सदस्यलाई हटाएर साधारण सभा तथा अधिवेशनको अर्को मिति तय गर्न माग गरेका छन् ।

यस्तै पुस्तकालयको विवादबारे अध्यक्ष लिलबहादुर रानालाई आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेले बोलाई सोधपुछ् गरेको छ । शुक्रबार एक समुहले पुस्तकालयको सदस्यता वितरणमा स्वेच्छाचारी भएको भन्दैे निवेदनका दिएको थियो । सोही विषयमा छलफल गर्न अध्यक्ष रानालाई सोधपुछ् गर्न जिल्ला प्रशासनले बोलाएको थियो ।

‘सोधपुछ्मा जिल्ला प्रशासन कार्यालयले साधारण सदस्यता वितरण प्रक्रियामा वर्तमान कार्यसमितिको कमजोरी भएको र अन्य संस्थागत सदस्यता वितरण प्रक्रिया नियमसंगत भएको जानकारी दिएको अध्यक्ष रानाले बताए ।

‘अहिले देखिएको विवादलाई स्थानीय तहमा नै मिलाएर निर्वाचनमा जानुहोस्, दुई चार दिन ढिला भएपनि मिलेर जानुस्, यदि मिलाउन सक्नु भएन भने जिल्ला प्रशासनले नियमानुसार गएर काम गर्ने भनेर सिडियो सावले भन्नु भएको छ’ अध्यक्ष रानाले भने ।

निर्वाचनको लागि संस्थाको विधान अनुसार तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको अध्यक्ष रानाले बताए । निर्वाचनको मिति तय गर्नु भन्दा पहिले आज (सोमबार) बिहान ८ बजे सर्वपक्षिय छलफल बोलाइएको र सो छलफलपछि मात्रै मिति तय गरिने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २१ गते सोमबार