1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

सगरमाथा सिमेन्ट विक्रि वितरणमा रोक

सुदीप अधिकारी
प्रकाशित मितिः शनिबार, साउन १९, २०७५  

बर्दिया,१९ साउन/   घोराही सिमेन्ट उद्योग दाङ्गबाट उत्पादन हुने सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमनका क्रममा सदरमुकाम गुलरियामा बिक्रि वितरण भइरहेको सगरमाथा सिमेन्टको नमूना गुणस्तर नापजाँचका लागि गुणस्तर तथा नापतौल विभागमा पठाउँदा उक्त सिमेन्ट गुणस्तरहीन फेला परेको हो ।

विभागबाट घोराही सिमेन्ट उद्योग दाङ्गबाट उत्पादन भएको सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तर अनुरुप नभएको प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट विक्रि वितरणमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी महेन्द्रजंग शाहीले बताए ।

घोराही सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादन नर्गन तथा विक्रि वितरणमा समेत रोक लगाउन जिल्ला प्रशासन कार्यालय दाङ्गलाई पत्राचार गरिएको सुचना अधिकारी शाहीले बताए । प्रशासनले सुचना जारी गरि उक्त सिमेन्ट खरिद तथा प्रयोग नर्गन उपभोक्तालाई अनुरोध गरेको छ ।

उक्त उद्योगलाई कालोबजार तथा केही सामाजिक अपराध तथा सजाए ऐन, २०३२ अन्र्तगत कारवाही गर्नका लागि प्रकृया अघि बढाइएको प्रशासनले जनाएको छ ।

केही महिना यता प्रशासनको बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ । प्रशासनले एक महिना अघि जिल्लामा विक्रि वितरण हुने सुनको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा जिल्लाका विभिन्न ठाउँमा विक्रि वितरण भइरहेको सुनमा मिसावट पाइएपछि १२ जना सुन व्यवसायीलाई कालोबजार तथा केही सामाजिक अपराध तथा सजाए ऐन, २०३२ अन्र्तगत कारवाही गरेको थियो ।

प्रशासनले बेलाबेलामा स्थानिय बजारमा भित्रने उपभोग्य बस्तुको मूल्य, परिमाण, शुद्धता र गुणस्तरको निरिक्षण तथा अनुगमन गर्दै आएको जनाएको छ ।

प्रकाशित मितिः शनिबार, साउन १९, २०७५     7:29:35 AM  |