कोहलपुर/ कोहलपुर नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर बाँकेले सञ्चालन गरेको २ महिने दक्ष कालिगढ तालिमका सहभागीहरु तालिम पश्चात धमाधम व्यवसायी बन्न थालेका छन् ।
उनीहरुले तालिमबाट सिकेको सिपबाट सिलाई कटाई तथा बुटिक व्यवसाय संचालन गरेर व्यवसायी बनिरहेका छन् । तालिमका सहभागीहरु २२ जनामध्ये हालसम्म करिब १३ जनाले सिलाई कटाई व्यवसाय सञ्चालन गरिसकेको र अन्य ६ जनाले अन्य पसलहरुमा कालिगढको काम गरिरहेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुरकी सचिव तथा तालिमकी प्रशिक्षक पवित्रा सुनारले बताइन् ।
तालिमका सहभागी मध्येका सन्ध्या परियार र प्रमिला जिसीले बुधबार कोहलपुर–११ कृषि हाटबजार नजिक एस.पी. टेलरिङ सेन्टर सञ्चालनमा ल्याएका छन् । सेन्टरको नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य रुपलाल परियार र बाँकेका अध्यक्ष शालिकराम परियारले उद्घाटन गरेका छन् ।
केन्द्रीय सदस्य परियारले तालिमले सहभागीहरुलाई तालिमले हौसला र उर्जा थपेको बताए । पसल सञ्चलान गरेकी सन्ध्या परियारले २ महिने तालिमले आफुहरुलाई सिलाई कटाई व्यवसाय सञ्चालन गर्न हिम्मत थपेको बताइन् ।
अर्की सञ्चालक प्रमिला जिसीले तालिमबाट सिकेका कुराले व्यवसायी बन्न सहयोग गरेको बताइन् ।
त्यस्तै तालिमकी अर्की सहभागी राधा रानाले तालिमबाट सीप सिकेर साडी पिको र फल्स हाउस व्यवसाय सञ्चालन गरेको बताइन् । पहिले समान्य आधारभुत तहको मात्र तालिम लिएर बसेको र आफूलाई २ महिने तालिमले निकै सहयोग गरेर रोजगारी सिर्जना गरेको रानाको भनाई छ ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले नगरपालिकाबाट दिइने तालिमहरु मुख्य उद्देश्य रोजगार सृजनाका लागि सञ्चालन गरिने बताउँदै दुई महिने सिलाई कटाई कालिगढ उत्पादन तालिम सिकेर सहभागीहरु रोजगारमा लागेकोमा खुसी व्यक्त गरे ।
‘सुरुमा मलाई तालिम दिएर दुरुपयोग हुन्छ की भन्ने चिन्ता लागेको थियो तर राम्रो भयो ।’ रावतले भने । आगामी दिनहरुमा व्यवसायमा लागेकाहरुका निम्ति प्रोत्साहनका कार्यक्रमहरु समेत सञ्चालन गरिन उनले बताए ।









प्रतिक्रिया दिनुहोस्