रावन बिश्वकर्मा : बाँसगढी,३० जेठ/ बर्दियाको बाँसगढीमा कार्पेट जन्य चक्कटी तथा गुन्द्री उद्योग सञ्चालनमा आएको छ । करिब रु ५० लाखको लागतमा बाँसगढी नगरपालिका–३ लखनाचोक नजिकै पुर्व पश्चिम महेन्द्र राजमार्गकै छेउमा उद्योग सञ्चालन आएको हो ।
बाँसगढी नगरपालिका–३ गिद्धवाका स्थानीय नैन बहादुर खत्रीले निजी लगानीमा आफ्नै ठाँउमा उद्योग सञ्चालन गरेका हुन् । १३ वर्षको उमेरदेखि भारतमा मजदुरी काम गरेर फर्किएका खत्रीले बंगुरपालन, गाईपालनसँगै अहिले उद्योग सञ्चालन गरेका हुन् ।
बंगुरपालन गरेर यस क्षेत्र मै सफल बंगुरपालक कृषकको रुपमा चिनिएका खत्रीले समाज मै केही गर्नु पर्छ भन्ने सोचका साथ उद्योग व्यवसाय सुरु गरिएको बताए ।
चक्कटी, गुन्दी, डोरम्याट, लम्पट लगायतका सामाग्री उत्पादन गरी नेपालमै मनग्य आम्दानी गर्ने सोचका साथ सम्भावनाको खोजी गर्दै उद्योग सञ्चालन गरेको उनको भनाई छ ।
उनले भने–‘सरकारले हाम्रो लागि केहि गरेन भनेर सरकारको मात्रै मुख ताक्नु भन्दा स्रोत तथा सम्भावनाहरुको खोजी गर्दै आफू पनि आत्मनिर्भर हुने र समाजमा पनि रोजगारी सृजना गर्न सकिने फरक सोचका साथ फरक व्यवसाय सुरु गरेको हुँ ।’
कार्पेटबाट निर्माण भएका चक्कटी, गुन्द्री, डोरम्याट, लम्पट लगायतका वस्तुहरु गाँउ तथा बजारहरुमा अत्याधिक माग रहेकाले बजारको कमी नहुने उनले बताए । उद्योग उद्घाटन पुर्व नै अत्याधिक माग भइरहेको र निर्माण गरिएका सामाग्रीहरु विभिन्न बजारसम्म पुर¥याइने लक्ष्य राखिएको छ ।
उद्योग सञ्चालनसँगै ३० जनाले रोजगारी समेत पाएका छन् ।









प्रतिक्रिया दिनुहोस्