रावन बिश्वकर्मा बाँसगढी,८ जेठ/ बाँसगढी नगरपालिका हरित नगरको रूपमा विकास गरिँदैछ । यसलाई विशेष योजना बनाएर कामको थालनी भएको छ । हिजोको अस्तव्यस्त बाँसगढी नगरलाई पूर्णरुपमा व्यवस्थित गर्नेतर्फ लागिरहेको नगरपालिकाले जनाएको छ ।
बाँसगढीलाई बाहै्र महिना हरियाली बनाइराख्न पहिलो चरणमा वृक्षारोपणको काम अगाडि बढाइएको छ । राजमार्गको दायाँबायाँ रहेका अतिक्रमण हटाएर पहिलो चरणअन्तर्गत बाँसगढी बजारमा राजमार्गको दायाँबायाँ दुई सय ४९ ओटा बिरुवा रोपिएको छ ।
प्रतिबिरुवा चार सय रुपैयाँका दरले ल्याइएको नगरपालिकाका सूचना अधिकारी शेरबहादुर केसीले बताए । ९९ हजार ६ सय लागतमा छतिवनका बिरुवा रोपिएको उनको भनाइ छ ।
नगरपालिकाले पहिलो चरणमा ९ वटै वडामा पार्क बनाएर कम्तीमा पनि एक वडामा एक सय बिरुवा रोप्ने लक्ष्य रहेको बाँसगढी नगरपालिका नगर प्रमुख शालिकराम अधिकारीले बताए ।
अधिकारीका अनुसार नगरपालिकाभित्र वातावरण सन्तुलन गर्ने खालका बिरुवा रोपिने र त्यस्तै खालका बिरुवा छनोट गर्ने काम भइरहेको छ । प्रत्येक वडामा एक लाख र बाँसगढी बजारभित्र चार लाख गरी पहिलो चरणमा १३ लाख बराबरको लागतमा बिरुवाहरु रोपिने नगरपालिकाले जनाएको छ ।
बाँसगढीमा रोपिएका बिरुवाहरुको संरक्षण एभरेष्ट बैंकले गर्ने गरी साझेदारी भइरहेको मेयर अधिकारीलेबताए । नगरपालिकाले नदी कटान भइरहेका विभिन्न ठाउँमा पनि बिरुवा रोप्ने योजनाअनुसार पहिलो चरणमा बाँसगढीको मदाहाबाट सुरु गर्ने लक्ष्य लिएको छ ।
बाँसगढी गाविस हुँदा र अहिले नगरपालिका हुँदा निकै फरक महसुस गरेको बाँसगढी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कटक बिसी बताउँछन् । अहिले विकासले गति लिइरहेको उनले बताए ।
‘पहिले भन्दा बढी कर तिर्नुपरे पनि विकासले गति लिँदा करको सदुपयोग भएको जस्तो लाग्छ,’ उनले भने, ‘बाँसगढी सबै किसिमले मिलेको क्षेत्र भएकाले चाँडै विकासमा फड्को मार्ने देखिन्छ ।’









प्रतिक्रिया दिनुहोस्