स्वास्थ्य शिविरबाट झण्डै १२ सय स्थानीय लाभाम्वित



कोहलपुर,१३ वैशाख/   बाँकेको नरैनापुर गाउँपालिकामा आयोजित तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट ११ सय ९६ स्थानीय लाभान्वित भएका छन् ।

नरैनापुर गाउँपालिकाको समन्वयमा आइ.एन.एफ.नेपालले नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरस्थित स्थानीय आदर्श माध्यमिक विद्यालयमा वैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिनसम्म आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सय सात जना पुरुष तथा चार सय ८९ जना महिलाको स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा छाला, दाँत र सामान्य चिकित्सा सेवा दिइएको थियो । स्वास्थ्य जाँच गरिएका मध्ये धेरैमा छालाको समस्या देखिएको बताइएको छ । नरैनापुरका अति गरिब र समयमै स्वास्थ्य उपचार गराउन नसक्ने नागरिकका लागि शिविरले राहत पु¥याएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

स्वास्थ्य जाँचका क्रममा शिविरमा १ जना कुष्ठरोगी पनि भेटिएको आई.एन.एफ.नेपालका स्वास्थ्य विभाग प्रबन्धक राजेन्द्र बहादुर सुनारले जानकारी दिए ।

शिविरमा भेरी अञ्चल अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा.बद्री चापागाईं, फिजिसियन डा.पारस श्रेष्ठ, नेपालगञ्ज मेडिकल कलेजका छाला रोग विशेषज्ञ डा.कुमार पोखरेल सहित ४ जना मेडिकल अधिकृतहरुको टोली उपचारका लागि खटिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १३ गते बिहीबार