नेपालगन्ज कपमा लुम्बिनी यात्रीजको दोस्रो जित



कोहलपुर,६ बैशाख/  आशीर्वाद पेन्ट्स नेपालगन्ज कपको तेस्रो दिन बुधबार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा लुम्बिनी यात्रीजले एनआइसी एसिया दंगाली गोर्खाजमाथि ३ विकेटको जित हासिल गरेको हो ।

लुम्बिनी यात्रीजले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्ने निम्तो पाएको एनआइसी एसिया दंगाली गोर्खाजको राम्रो सुरुवात रहेन । निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०७ रन बनाएको थियो । जसका लागि दंगाली गोर्खाजका कप्तान अमरसिंह रौटेलाले सर्वाधिक २६ रन र उपकप्तान विनायक गिरीले २४ रन बनाएका थिए ।

लुम्बिनी यात्रीजका लागि सुनिल सुनार र निजामुद्दिन अन्सारीले समान २ विकेट लिए । १०८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको लुम्बिनी यात्रीजको पनि सुरुवाती क्रमका ब्याट्सम्यान चल्न नसके पनि छैठौ नम्बरमा आएका बासिर अहमदले ३० बल खेल्दै ३५ रन जोडे भने कप्तान कृष्ण कार्कीले २२ रन जोडे । दंगाली गोर्खाजका लागि अमर सिंह रौटेला,सुनिल सुनार र शाहिद अन्सारीको नाममा २÷२ विकेट रह्यो ।

१८.५ ओभरमा ७ विकेट गुमाउँदै लुम्बिनी यात्रीज आशीर्वाद पेन्ट्स नेपालगन्ज कपको अंक तालिकामा २ जितसँगै माथि उक्लेको छ । लुम्बिनी यात्रीजका बासिर अहमद म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले २१ रनले जित हासिल गरेको छ । टस जितेर रोल्पा गोरिल्लाजले पहिले ब्याटिङ रोजेको थियो । रोल्पाका लागि ओपनर शेर ओली र कप्तान सौरभ खनालले राम्रो सुरुवात गरे । कप्तान सौरभ खनालले २० रन र शेर ओलीले २४ रन बनाए । त्यस्तै रोल्पाका उपकप्तान सम्मसुद्दिन अन्सारीले खेलको पारी सम्हाल्दै ३२ बलमा ३२ रन बनाएका थिए भने चौथो नम्बरमा आएका भिम सार्कीले पनि २२ बल खेल्दै २९ रन बनाएका थिए ।

अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सका लागि आकाश विष्टले २ विकेट लिए भने नासिर अन्सारी र हसन खानको नाममा १÷१ विकेट रह्यो । २० ओभर खेल्दै ६ विकेटको क्षतिमा रोल्पा गोरिल्लाजले १२४ रन बनाएको थियो ।

प्रतिउत्तरमा १२५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको बर्दिया टाईर्गसका लागि सुखद सुरुवात रहे पनि कप्तान सुवेन्दु पाण्डेको २१ रन र राजवीर सिंहको २८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । खेलमा जित दिलाउन पप्पु कन्सट्रक्सनका विनोद लामा र मेराज अन्सारीको नाममा २ विकेट रह्यो । म्यान अफ द म्याच पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका २९ रन, एक क्याच लिन सफल भीम सार्की घोषित भए ।

त्यस्तै बिहीबार हुने खेलमा पहिलो खेल आशीर्वाद पेन्ट्स पाल्पा योद्याज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्स र दोस्रो खेल जिसान बाँके ब्लास्टर र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजबीच हुने प्रतियोगिताका निर्देशक सौगात विक्रम शाहले बताए । प्रतियोगिताको विजेताले एक लाख १० हजार तथा उपविजेताले ६० हजार पाउने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार