युवाहरुलाई संरक्षणमा सहभागी गराउन सडक नाटक



कोहलपुर,१७ चैत/  सडक नाटकको माध्यमबाट मध्यवर्ती क्षेत्रका युवाहरुलाई संरक्षणमा सहभागी गराउन उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक नाटक प्रर्दशन गरिएको छ ।

संरक्षणका सन्दर्भमा फरक मत र विचार राख्ने युवा पीढिलाई संरक्षणमा एक ढिक्का भएर लाग्न सन्देश बोकेको संरक्षण सडक नाटक बाँके राष्ट्रिय निकुञ्जको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगत चिसापानी, बानियाभार र मनकामना चोकमा उक्त नाटक मञ्चन गरिएको छ ।

संरक्षणमा क्रियाशिल युवाहरुद्धारा मञ्चित नाटकले वन जंगल तस्कर गर्नु भन्दा पहिला नै सोच परिवर्तन गर्नकालागि जोड दिइएको समुदायमा आधारित चोरि शिकार नियन्त्रण युवा जागरण टोल युनिटका अध्यक्ष युवराज शाहले बताए ।

समुदायमा संरक्षण सोचको विकास गर्न सके मात्र जैविक विविधता संरक्षण हुने उनले थपे । वन रक्षक, नेपाली सेना, निकुञ्ज कर्मचारी, संरक्षणकर्मीहरुको भूमिमा रहेका युवाहरुले नाटक मञ्चन गर्दा दर्शकहरुले उत्सुक भएका थिए ।

समाजमा भइरहेको यथार्थ घटनालाई समावेश गरिएको र युवाहरुको सोचमा परिवर्तन गर्न सक्ने क्षमता राख्ने विषय बस्तु रहेको दर्शक सुदिप ज्ञवालीको प्रतिक्रिया रहेको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा युवाहरु संस्थागत रुपमा संरक्षण क्रियाकलापमा आवद्ध भएका छन् । समुदायमा आधारित चोरि शिकार नियन्त्रण युवा जागरण सञ्जालमा झण्डै १ हजार युवाहरुको सहभागिता रहेको सञ्जालका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।

सञ्जालमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने युवाहरुको सहभागितामा जैविक विविधताको संरक्षण गर्ने, युवाहरुको नेतृत्व विकास गर्ने, स्थानीय सेरोफेरोमा रोजगार र स्वरोजगारको सृजना गर्ने अभियानमा रहेको सञ्जालले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार