कोहलपुर,११ चैत/ बाँकेको कोहलपुर–१२ मा रहेको दिपज्योति विद्याश्रम माविले अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयको सञ्चालक समितिमा नयाँ टिम आएपछि पहिलो पटक अभिभावक भेला गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय सञ्चालन समितिका सदस्य मन प्रसाद शर्माले विद्यार्थीहरुको मनोविज्ञानलाई आत्मासाथ गरी अध्ययनलाई जोड दिइने बताए । साथै विद्यालयले आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनका लागि विभिन्न योजनाहरु सञ्चालनमा ल्याउने बताए । बाँके जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयलाई नयाँ योजनाका साथ विद्यालयको शैक्षिक विकासका लागि सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै शिक्षक अभिभावक संघका अध्यक्ष एकराज शर्माले विद्यालयको शैक्षिक, प्रशासनिक, भौतिक पक्षलाई पूर्ण रुपमा परिवर्तन गरी योग्य सक्षम र सवल शिक्षकहरुलाई खुल्ला विज्ञापन गरी नियुक्ति गर्ने बताए ।
विद्यालयको शैक्षिक विकासका लागि अभिभावकहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने भन्दै विद्यालयलाई समय समयमा आएर रचनात्मक सुझावहरु दिन अनुरोध गरेका थिए ।
कार्यक्रममा अभिभावकको तर्फबाट बोल्दै भिम खरेलले विद्यालयले प्राविधिक शिक्षामा जोड दिएर आजको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति उत्पादन गर्नका लागि विद्यालय परिवार सक्रिय भएर लाग्नु सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल डिल्ली शाहले बालबालिकाहरुको शैक्षिक विकासका लागि विद्यालयसँगै घर परिवारहरुले पनि विशेष ख्याल गर्नुपर्ने भन्दै विद्यार्थीहरुको भावना अनुसार शिक्षण कार्यलाई प्राथमिकता दिईने बताए ।
कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका सदस्य पुनित विक्रम शाहले विद्यालयबाट प्रदान गरिने शिक्षा बालमैत्री हुने भन्दै सबै अभिभावकहरुले विद्यालयको शैक्षिक विकासका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।
विद्यालय सञ्चालक समितिका सदस्य पुनित विक्रम शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षकद्वय टिकाराम शार्मा र प्रकाश पौडेलले गरेका थिए ।