अन्तर क्याम्पस स्तरीय भलिबल प्रतियोगिता सुरु



कोहलपुर,३ चैत/   कोहलपुरस्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन कोहलपुरको आयोजनामा अन्तर क्याम्पस
स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ ।

बाँकेका रहेका विभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको अन्र्तनिहित क्षमताको विकास गर्नका लागि प्रयितोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु बिचको आत्मिय सम्बन्ध स्थापित गर्न र विद्यार्थीहरुको शैक्षिक गतिविधिहरुलाई थप टेवा पु¥याउनका लागि खेलकुदले विशेष अर्थ दिने बताए ।

त्यस्तै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका सञ्चालक समितिका सदस्य सूर्य ढकालले विद्यार्थीहरुको व्यक्तित्व विकास लागि खेलकुदको आवश्यकता परेकाले यस्ता प्रतियोताहरुलाई जोड दिनुपर्ने बताए । साथै उनले विद्यार्थीहरुलाई अनुशासित र लगनशिल बनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए ।

सो प्रतियोगिताको पहिलो दिन सम्पन्न भएको खेलमा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस ‘बि’ लाई हराउँदै होलिल्याण्ड नेपालगञ्ज विजय भएको छ भने मध्यपश्चिम बहुमुखी क्याम्पसलाई हराउँदै त्रिभुवन नमूना मावि कोहलपुर विजय भएको छ ।

त्यस्तै डाईनामिक क्याम्पस कोहलपुरलाई हराउँदै कोहलपुर मोडल कलेज विजय भएको छ । प्रतियोगितामा बाँके जिल्लाका ९ वटा क्याम्पसले सहभागिता जनाएका छन् ।

प्रतियोगितमा प्रथम हुनेलाई १२ हजार र द्वितीय हुनेलाई ८ हजार पुरस्कार राशि रहेको छ । स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका सभापति दिनेश केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु, क्याम्पसका प्राध्यापक, खेलाडी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता नक आउट चरण हुने छ भने प्रतियोगिता यहि ४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३ गते शनिबार