नेपालगञ्ज,१ चैत/ जिल्ला ट्राफिक प्रहरी कार्यालय र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय गरी बाँकेमा ट्राफिक प्रहरीका दुईवटा कार्यालय छन् । बाँकेमा ट्राफिक प्रहरीको ध्यान आम नागरिकको बुझाई भन्दा फरक रहेको पाइएको छ ।
नेपालगञ्जमा दैनिकजसो सवारी साधनको संख्यामा वृद्धि भइरहेको र साँघुरा सडकका कारण यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । खासगरी नेपालगञ्जको मुख्य सडक सुर्खेतरोड ओहोरदोहोर गर्ने सवारी साधनको चापका कारण निकै व्यस्त बन्ने गरेको छ ।
सवारी चाप बढिरहेकोले ट्राफिक व्यवस्थापन शुन्यजस्तै भएको यात्रुहरुको भनाई रहेको छ । मध्य तथा सुदूरपश्चिमको केन्द्रविन्दुका रुपमा रहेको नेपालगञ्ज आम नागरिकले सोचेजस्तो छैन । दिनहुँ बढ्दो सवारी चाप र अस्तव्यवस्त ट्राफिक व्यवस्थापनले पैदल यात्रुलाई समेत सास्ती हने गरेको छ ।
धम्बोझी चोक नजिकै पैदल यात्रा गरिरहेका जाजरकोटका रामसिंह रानाका अनुशार केहीवर्ष पहिले सडकमा हिँड्दा सजिलै हुने भएपनि अहिले कसैले ठोकाइदेला भन्ने डर रहेको छ । नेपालगञ्जमा दैनिकजसो सयौंको संख्यामा चारपांग्रे गाडी, मोटरसाइकल, ठुला सवारी साधन र साइकलको ओहोरदोहोर चलिरहन्छ ।
अझ पछिल्लो समयमा सयौंको संख्यामा अटोरिक्साहरु दौडिरहेका छन् । नेपालगञ्जको गणेशमान चौक, धम्बोझी चौक, पुष्पलाल चौक, काँरकादो चोक हुँदै राझा चौकसम्मको ट्राफिक व्यवस्थापन निकै फितलो र अस्तव्यस्तपूर्ण रहेको छ । तीव्र गतिमा सवारी साधनहरुको ओहोरदोहोरले सडक यात्रुहरुलाई निकै तनाव हुने गरेको नेपालगन्ज–१८ काँरकादोका स्थानीयवासी पूर्णबहादुर शाही बताउँछन् ।
ट्राफिक व्यवस्थापन कमजोर हुँदा जिल्ला ट्राफिक प्रहरी भने ट्राफिक व्यवस्थापनमा क्रियाशिल देखिँदैन । पछिल्लो समयमा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा भन्दा राजस्व असुलीमा ध्यान दिइरहेको एक सर्वसाधारण बताउँछन् । बजारमा समान्यतया भिड हुनु ठिक हो । तर सडक जाम र अस्तव्यस्त ठाउँमा ट्राफिक जिल्ला प्रहरीको ध्यान जाँदैन, एक पैदल यात्रुले भने, जिल्ला ट्राफिक प्रहरी ट्राफिक व्वस्थापनमा भन्दा राजश्व असुलीमा तल्लीन छ । ट्राफिक प्रहरी विभिन्न कमजोरीको बाहना निकालेर राजश्व असुलीमा केन्द्रित भएको सर्वसाधारणहरुको आरोप छ ।
यसले नागरिकलाई त्रसित मात्र होइन आक्रोसित बनाएको छ । विभिन्न स्थानमा जरिवानाका नाममा ट्राफिक प्रहरी परिचालन गर्ने र सामान्यभन्दा सामान्य कुरामा राजश्व असुलीलाई तिव्रता दिइनुले नागरिकहरुमा ट्राफिक प्रहरीप्रति नकारात्मक सोच बढेको छ । घण्टौंसम्म बजारमा ट्राफिक जाम हुँदा जिल्ला ट्राफिक प्रहरीको ध्यान नगएको खजुराका विकास बज्राचार्यले बताए । यसरी विनाकारण ट्राफिक कारवाहीले नागरिकहरुलाई चेतनाभन्दा आक्रोशित तुल्याएको छ ।
बज्राचार्यका अनुसार मुस्कानसहितको प्रहरी सेवा होइन, नागरिकसँग बाध्यात्मक र त्रसित बनाउने खालको ट्राफिक प्रहरी सेवा भइरहेको र ट्राफिक प्रहरी नागरिकमैत्री होइन राजस्वमैत्री भएको छ । अधिकांश सवारी चालक तथा सहचालकहरुले आफूलाई ट्राफिक प्रहरीले गर्ने व्यवहार रुखोे, हेपाहा र अपमानजनक हुने गरेको बताएका छन् ।
सामान्य कागजात माग्दा समेत अपमानजनक भाषा प्रयोग गर्ने, के गल्ती गरेको भन्ने जानकारी नै नदिएर लुटेराको शैलीमा कागजात लैजाने ट्राफिक प्रहरीको व्यवहारले नागरिकहरु आजित भएका छन् । ट्राफिक प्रहरी कहिल्यै मुस्कुराको देखेको छैन, उनीहरुको व्यवहार सधैं रुखो र अपमानजनक हुन्छ, एक यात्रुले भने ।
एता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख होमबहादुर थापा ट्राफिक व्यवस्थापन चुस्त रहेको दावी गर्छन् । धेरै ठाउँमा राखिएको जेब्रा क्रसिङ्गले दुर्घटना बढाएको थियो । त्यसलाई रोक्न आफुहरुले सडक छेउका डिभाइडर उठाएर निश्चित ठाउँमा मात्रै जेब्रा क्रसिङ्ग राखेकोले दुर्घटनामा निकै कमी ल्याएको उनले बताए ।
सवारी व्यवस्थापनको लागि पार्किङ्गस्थलको खोजी गरिरहेको उनले बताए । बाँकेमा सरुवा भएर आउने ट्राफिक प्रहरी प्रमुखहरुले सबैले पार्किङ्गस्थलको व्यवस्थापनलाई मुद्दा बनाइरहेका हुन्छन् । तर पार्किङ्गस्थलको व्यवस्थापनमा भने उनीहरुको ध्यान जान सकिरहेको छैन् ।