अवधी भाषाको पाठ्यपुस्तक पठन सामाग्री निर्माण शुरु



मिसन समाचारदाता :नेपालगन्ज,२९ फागुन /  नेपालगन्जमा अवधी भाषाको पाठ्यपुस्तक पठन सामाग्री निमार्ण शुरु गरिएको छ । नेपालमै पहिलो पटक अवधी भाषाको विद्युतीय सप्फट्वेयरमा पठनसामाग्री निमार्ण गर्न लागिएको हो । विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले सो सामाग्री निमार्णका लागि २२ जना अवधी लेखकहरुका लागि ६ दिने कार्यशाला शुरु गरेको छ ।

सोही कार्यशालामा अवधी भाषाका २ सय वटा पाठ्य सामाग्री तयार पारिने छ ।
कार्यशालाको उदघाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले अवधीभाषी धेरै भएको बाँकेमा प्रारम्भिक कक्षाका बालबालिकाका लागि अवधी भाषाको पाठ्य सामाग्री निर्माण गर्नु अतिनै राम्रो काम भएको बताए ।

उनले यो सामागीको निर्माणपछि विभिन्न स्थानीय तहमार्फत पाठ्य सामाग्रीलाई प्रयोगमा ल्याउन लगाउने बताए । सो अवसरमा बोल्दै जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक शिक्षा अधिकारी गोर्ख बहादुर थापाले यो सामाग्री निर्माणले अवधी भाषी क्षेत्रका बालबालिकालाई बिद्यालयमा टिकाउन सहयोग गर्ने बताए ।

शिक्षा पत्रकार समुहका सचिव तुला अधिकारीले बाँके जस्तो जिल्लाका लागि अवधी पाठ्य सामाग्री निर्माण गरिनु धेरै ठुलो उपलब्धी भएको बताए । पठन सामाग्री तयार भएपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृ भाषामा पढन लेख्न र सिक्ने कार्यमा सहजता हुनेछ ।
कार्यशालामा विद्युतीय सफ्टवेयर तथा विषयबस्तुको बारेमा जानकारी गराई २ सय पाठ तयार गरिने बाँके यूनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दिकीले बताए ।

कार्यशालामा पाठयक्रम विकास केन्द्रका पुरुषोत्तम घिमिरे र विश्व शिक्षाका सिमा आचार्य सहितको ४ जनाको टोलीले सहजीकरण गरिरहेको छ । सो कार्यशालाको व्यवस्थापन र सहजीकरण बाँके युनेस्को क्लबको तर्फबाट सिराज खान र राकेश मिश्रले गरेका छन ।
पठन सामाग्री तयार भएपछि विद्यालयहरुमार्फत मातृभाषाका विद्यार्थीहरुलाई पढन र सिक्नका लागि उपयोगी हुनेछ ।

पश्चिम नेपाल नवलपरासीदेखि कञ्चनपुर जिल्लासम्म अवधी भाषीको भौगोलिक क्षेत्र रहेको छ । बाँके जिल्लालाई केन्द्र मानी विश्वकै अवधी भाषीका बालबालिकाहरुका लागि पाठन सामाग्री तयार गर्न लागिएको जनाईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २९ गते मंगलबार