20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

फाल्गुन ७, २०७४ काठमाडौँ — अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै आएका गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेका छन् ।
कुवेतमा रहेका म्यानपावर व्यवसायीविरुद्ध समाचारहरु लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन्। कुवेतमा ‘मरुभुमिको कोशेली’ पत्रिका र अनलाइन सञ्चालन गर्दै आएका न्यौपानेको नाक, निधार र मुखमा चोट लागेको छ।
‘डियूटीबाट फर्किने बेला फोन गर्नुभयो। उहाँहरुले साथी सुजन केशीको कोठामा बोलाउनुभयो। सामान्य हिसाबले लिएर कोठामा पुग्नसाथ ममाथि अध्यक्ष तामाङले नै आक्रमण गर्नुभयो,’ न्यौपानेले कान्तिपुरलाई भने, ‘मलाई रक्सी लिएको गिलासले हिर्काउनुभयो। भित्र किचनबाट चक्कु ल्याएर प्रहार गर्ने कोशिस गर्नुभयो, त्यो छलेर जोगिएँ। झन्डै आधाघण्टासम्म कुटपीट गर्नुभयो।’
कुटपीट गर्नेक्रममा कुवेत म्यानपावर ब्यबसायी संघका अध्यक्ष श्याम लामा, दिनेश उप्रेती र कुमार पुरीले साथ दिएका थिए। ‘उनीहरुले पहिलादेखि योजना बनाएका रहेछन्। झन्डै एकदशकदेखि राम्रै चिनजान भएकोले कुटपीट गर्छन् भन्ने सोचेको पनि थिइँन्,’ उनले भने।
तामाङसहित ब्यबसायीले अबैध ढंगले घरेलु महिला कामदार ल्याई कुवेतीलाई बेच्ने गरेका छन्। सरकारले बैध ढंगले घरेलु कामदार पठाउन रोक लगाएपछि कुवेतमा कार्यरत पत्रकारहरुले श्रम सम्झौता नभएसम्म घरेलु कामदार पठाउन नहुने पक्षको वकालत गर्दै आइरहेका छन्।
न्यौपानेको फर्वानियास्थित अस्पतालमा उपचार भएको छ। उनले उनीहरुविरुद्व स्थानीय प्रहरीमा उजुरी हाल्ने तयारी गरेको बताए। ‘घटनापछि भागेर एउटा रुखको आडमा लुकेर बसें। लगत्तै मैले दूतावास र राजदूतलाई जानकारी दिएँ,’ उनले भने, ‘हामी पहिला प्रहरी कार्यालयमा उजुरी दिन्छौं। त्यसपछि दूतावासले कसरी लिएको छ त्यसबारे बुझ्न जाँदैछौं।’ कान्तिपुर

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     1:07:15 PM  |