भीम रावत : कोहलपुर,२८ माघ/ नेपाल पत्रकार महासंघ बाँके शाखाको २९ औं स्थापना दिवस भव्यरुपमा मनाइएको छ । आइतबार विहान नेपालगञ्ज बसपार्क नजिक रहेको महासंघको कार्यालयबाट प्रभाफेरि शुरु पुष्पलाल चोक, धम्बोझी चोक हुँदै ग्यालेक्सी दरबारमा पुगेर औपचारिक कार्यक्रममा रुपान्तरण भएको थियो ।
शाखा अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा ‘बर्थडे’ केक काटेर शाखाको स्थापना दिवसको औपचारिक शुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले देशकै जेठो शाखाको रुपमा स्थापित भएको बाँके शाखाको नेपाली पत्रकारिताको इतिहासमा मात्र होइन, मुलुकमा लोकतान्त्रिक आन्दोलन र अधिकार प्राप्तिको आन्दोलनमा विशिष्ठ भूमिका रहेको बताए ।
नेपालमा लोकतन्त्रको लागि राजनीतिक दलहरुलु समेत आन्दोलन गर्न नसकिरहेको अवस्थामा बाँकेका पत्रकारहरु छिमेकी मुलुक भारतको रुपैडियामा जम्मा भएर पनि नेपालमा लोकतन्त्र प्राप्तिको लागि आन्दोलन गरेको घटना नेपाली पत्रकारिताको इतिहासमा महत्वपूर्ण भूमिकाको रुपमा अङ्कित रहेको पोख्रेलले स्मरण गराए ।
पोख्रेलले नेपालको राजनीतिक व्यवस्था र राजनीतिक संरचना बदलिएकाले पत्रकारहरुको भूमिका पनि अझ जिम्मेवार र बदलिनु पर्ने सुझाव दिदै अबको संघीय संरचनामा पत्रकार महासंघको संरचना पनि बदलिने बताए । महासंघका केन्द्रीय सचिव उदय जिएमले अब आन्दो चैत्र –बैशाख सम्म महासंघका सबै प्रदेशहरुमा प्रदेश स्तरका समितिहरु बन्नुका साथै स्थानीय तह सम्म पनि त्यो संरचना बन्ने र त्यस पश्चात श्रमजीवि प्रकारहरुको अवस्थाको बारेमा विशेष ध्यान दिइने बताए ।
महासंघका पूर्व केन्द्रीय महासचिव पोषण के.सीले लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रहेका नेपाली पत्रकारहरुलाई लोकतन्त्र प्राप्त पश्चात बन्ने सरकारहरुले प्रेस स्वतन्त्रताको विषयमा अनुदार देखिने गरेका प्रति सचेत गराउदै अबको संघीय संरचनामा संघ , प्रदेश र स्थानीय तहमा नेपाली पत्रकार र सञ्चार संस्थाहरुको बारेमा नयाँ कानून ,ऐन तथा निर्देशिकाहरु बनाउन पाउने प्रावधान राखेकाले संघीय सांसद महेश्वर गहतराज (अथक) र प्रदेश सांसद आरती पौडेललाई प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कानून नबनाउन आग्रह गरे ।
बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सांसद अथक , बाँके क्षेत्र नं. १ (ख) प्रदेशसभा सांसद आरती पौडेल ,नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष लियाकद अलि, नेपालपत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य जनक नेपाल, इन्सेकका क्षत्रीय संयोजक भोला महत , उच्च अदालत बारएशोसिएशनका अध्यक्ष बल बहादुर चन्द, जिल्लाबारका अध्यक्ष उदय राज वर्मा , एमाले बाँके अध्यक्ष अशोक कोइराला ,संघीय इकाई प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख महेश विक्रम शाह लगायतले शुभकामना मनतव्य राखेका थिए ।
शाखाको स्थापना दिवसकै अवसरमा महासंघका स्थापक अध्यक्ष ,पूर्व केन्द्रीयहरु , पूर्व जिल्ला अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । महासंघले पत्रकार रहिस सिद्धिकीको उपचारका लागि रु १० हजार नगद सहयोग समेत हस्तान्तरण गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्