
यतिबेला अटोमोबाइल प्रविधिको विकासले एकाएक छलांग मारेको छ । यस्ता प्रविधिमा मानिसको रुची बढ्दै गएको र नयाँ नयाँ प्रविधिको प्रयोगले यस्तो फड्को मारेको अनुमान सहजै लगाउन सकिन्छ । त्यसमा पनि ३०१७ साललाई फर्केर हेर्दा अटोमोबाइलको विकासक्रममा निकै उपयुक्त देखियो । अमेरिकी कम्पनी टेस्लाको विद्युतीय कार सार्वजनिक भएको तीन दिनमै तीन लाख ग्राहकले खरिद गरेका थिए । यसबाट स्पष्ट हुन्छ कि यसको उत्पादनले निकै राम्रो बजार पाएको छ । त्यसैगरी एक स्थानबाट अर्को स्थानमा जानका लागि हाइपर लुपको परीक्षण गरिएको छ । दुबईमा विश्वकै पहिलो प्यासेन्जर ड्रोनको परीक्षण उडान गरिएको छ । आइरन म्यान वा यस्तै सुपर हिरो फिल्महरुमा विभिन्न प्रकारको सुट लगाएर मानिस उडेको जस्तै सुट लगाएर उड्ने कार्यले विश्व रेकर्ड कायम भएको छ । अन्तरिक्षमा जानका लागि स्पेस एक्सको रकेट बुस्टर तयार भएको छ । मिचेलिन र उबर मिलेर नया एयरलेस टायरको विकास गरेका छन् ।
टेस्लाको विद्युतीय कार
यो वर्ष टेस्लाले पहिलो विद्युतीय कार सार्वजनिक गर्यो । सार्वजनिक भएको ७२ घन्टामै तीन लाख ग्राहकले बुकिङ गरेको अमेरिकी कम्पनी टेस्लाको विद्युतीय कार ‘मोडल थ्री’ अमेरिकी बजारमा उपलब्ध भएको छ ।टेस्ला ‘मोडल थ्री’ प्रतिघण्टा २२५ किलोमिटरसम्मको रफ्तारमा चल्छ । एक हजार ६ सय १० किलो तौल भएको यो विद्युतीय कारमा राम्रो सस्पेन्सन प्रणाली भएको कम्पनीले बताएको छ । टेस्लाका सीईओ इलोन मस्कले अगस्टसम्म १ सय, सेप्टेम्बरसम्म १५ सय र डिसेम्बरसम्ममा २ हजार कार उत्पादन गर्ने कम्पनीको लक्ष्य भएको बताएका थिए ।
एक पटकको पूरा चार्जमा करिब ३ सय ४६ किलोमिटर सम्म चल्ने भएकाले यसलाई विद्युतीय सवारीसाधनको दुनियाँमा कोशेढुंगा मानिएको छ । यसलाई चार्ज गर्न अमेरिका र अन्य देशका राजमार्गमा कम्पनीले चार्जिङ स्टेशनहरु राख्नेछ । टेस्लाको यो कार तुलनात्मक रुपमा सस्तो पनि छ ।
हाइपरलुपको परीक्षण
यो वर्ष सुपरसोनिक स्पिड टेरेस्ट्रियल ट्रान्सपोर्टको क्षेत्रमा प्रवेश गर्नका लागि एक कदम नजिक पुग्ने अवस्था देखिएको छ । अमेरिकाको नेभादामा हाइपरलुप वानले आफ्नो प्यासेन्जर पोडको सफलतापूर्वक परीक्षण गरेको छ । हाइपरलुपमा भएको ५ सय मिटर लामो भ्याकुम ट्युब १ सय ९० माइल प्रतिघण्टाको गतिमा उड्न सफल भयो । कार्बन फाइबर र आल्मुनियम प्यासेन्जर पोडको प्रयोग गरिएको उक्त हाइपरलुपले इलेक्ट्रोम्याग्नेटिक लेभिटेसनको प्रयोग गरेको थियो ।
यस प्रकारको हाइपरलुपको धारणा टेस्लाका सीईओ इलोन मस्कले ल्याएका थिए । टेस्लाले पनि यस क्षेत्रमा काम गरिरहेको छ । त्यसैगरी क्यानाडाको ट्रान्सपोड र अमेरिकाका एईकम र एरिभोले पनि यस क्षेत्रमा कार्य गरिरहेका छन् ।
स्पेस एक्सको रियुजेबल फाल्कन रकेट
इलोन मस्कले पहिले देखि चर्चामा रहेको स्पेस एक्सको रकेट बुस्टर यो वर्ष उडाए । यसबाट आगामी दिनमा अन्तरिक्षमा यात्रा गर्न चाहनेहरुका लागि नया सम्भावनाको ढोका खोलेको छ । प्रतिस्पर्धिको रुपमा रहेको जेफ बेजोसको ब्लु ओरिजिनस“ग यसको प्रतिस्पर्धा हुनेछ । यसबाट भविष्यमा अन्तरिक्षमा यात्रा गर्न चाहनेहरुले पहिलेको १० हजार डलरको सट्टामा २ हजार डलरमै यात्रा गर्न सक्ने भएका छन् । आगामी दिनमा यसको रकम अझै घट्दै जाने अनुमान छ ।
मिचेलिन एयरलेस टायर
मिचेलिन र उबर मिलेर नया एयरलेस टायरको विकास गरेका छन् । यसमा थ्रीडी प्रिन्टेड ट्रेडको प्रयोग गरिएको छ । यसमा भएका सेन्सरको सहयोगले ड्राइभरले टायरमा कुनै कमजोरी भएमा पनि सबै कुरा थाहा पाउछ । आगामी दिनमा यो टायरले धेरै नै राम्रो बजार लिने अनुमान गरिएको छ ।
फ्लाइङ सुट लगाएर विश्व रेकर्ड
आइरन म्यान वा यस्तै सुपर हिरो फिल्महरुमा विभिन्न प्रकारको सुट लगाएर मानिस उडेको देखिन्छ । तर यो वर्ष यस्तै सुट लगाएर उड्ने कार्यले विश्व रेकर्ड कायम भएको छ । रिचर्ड ब्राउनिङले शरीरबाटै नियन्त्रण गर्न सकिने जेट इन्जिन प्रोपेल्ड सुट लगाएर ३२ दशमलव २ माइल प्रतिघण्टाको गतिमा उडेर नया रेकर्ड कायम गरे । उनी बेलायतको एउटा तालमाथि उडेका थिए ।
पहिलो प्यासेन्जर ड्रोन
यो वर्ष दुबईमा विश्वकै पहिलो प्यासेन्जर ड्रोनको परीक्षण उडान गरियो । द इहाङ १८४ नाम दिइएको उक्त ड्रोनमा एक सय किलोग्राम सम्म तौल भएको प्यासेन्जर उड्न सक्छन् । एक पटकमा ३० मिनेटसम्म उक्त ड्रोनलाई उडाउन सकिन्छ । यसलाई अटो पाइलटले नै चलाउने भएकाले कुनै झन्झट हु“दैन । लाइसेन्स पनि चाह्रिदैन । आफू जाने स्थानमा टचस्क्रिनको सहयोगले पुग्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्