अब एमाले र माओवादी बीच पार्टी एकताको प्रक्रिया शुरु हुन्छ ः शंकर पोखरेल



मिसन सामाचारदाता/ कोहलपुर, २८ मंसिर, नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले निर्वाचन सम्पन्न भैसकेकाले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकताको प्रक्रियाले गतिलिने बताएका छन् ।
प्रादेशिक र संघीय निर्वाचन एकैपटक गरिएकाले प्रादेशिक र संघीय सरकार गठनमा समेत केही समय लाग्न सक्ने संकेत गर्दै पोखरेलले नेपाली जनताले कम्युनिष्टहरुको एकता चाहेकोले बाम गठबन्धनलाई अत्याधिक बहुमतले विजयी गरेको बताए । पार्टी एकताको विषयमा मानिसहरुले जतिसुकै टिकाटिप्पणी गरेपनि जनताको चाहाना अनुसार अब पार्टी एकताको काम अघी बढ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरे ।
नेपाली जनताले अब स्थिर सरकार चाहेको बताउँदै नेता पोखरेलले जनताको चाहाना अनुसार नै अब एमालेको नेतृत्वमा स्थायी प्रकृतिको सरकार बन्ने र त्यसले देशले विकास र निकास दुबैमा जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउने दाबी समेत गरे । उनले एउटै घोषणा पत्रमा निर्वाचन लडेको कारण अब बन्ने बन्ने सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने जानकारी गराए । पोखे्रलले भने, ‘वर्तमान सरकारले निर्वाचन पहिला नै प्रदेश सरकारको लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएपनि सो नगरेको कारण केही समय अलमल हुने छ ।’ प्रत्येक्ष तर्फको मतगणनामा बाम गठबन्धनलाई जनताले अत्याधिक बिश्वास गरेको बताउँद पोखरेलले समानुपातिकमा पनि जनताले प्रत्येक्षमा जस्तै बिश्वास गरेको उल्लेख गरे । समानुपातिक तर्फको मतगणना सम्पन्न भैसकेपछि शिर्ष नेताहरु पार्टी एकताको प्रक्रियामा लाग्ने बताउँदै अब पनि पार्टी एकता हुँदैन कि भन्ने भ्रम कसैले नराख्न आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २८ गते बिहीबार