समानुपातिक परिणाम- एमाले नै अगाडि



मंसिर २७, २०७४-प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाममा पनि एमालेले अग्रता कायमै राखेको छ । मंगलबार राति ११ बजेसम्म ४५ लाख ९५ हजार ९ सय १२ मत गणना भएकोमा एमालेले १६ लाख ४५ हजार ६ सय ९७ मत प्राप्त गरेको छ । यो कुल मतको ३५.८० प्रतिशत हो । कांग्रेसले १५ लाख ५३ हजार २ सय ४९ मत ल्याएको छ । यो ३३.७९ प्रतिशत हो ।

माओवादी केन्द्रले ६ लाख ५१ हजार ६ सय ७७ मत ल्याएको छ । यो १४.१७ प्रतिशत हो । संघीय फोरमले १ लाख ६६ हजार २४ मत ल्याएको छ । यो गणना भएको कुल मतको ३.६१ प्रतिशत हो । करिब आधा मत गणना भइसक्दा ४ पार्टीले मात्रै गणना भएको मतको ३ प्रतिशत कटाएका छन् । राष्ट्रिय जनता पार्टीले १ लाख १२ हजार ७ सय ६७ मत ल्याएको छ । राप्रपाले १ लाख ३ हजार ६ सय ५७ र विवेकशील साझा पार्टीले १ लाख ४ सय ५७ मत ल्याएका छन् । नयाँ शक्ति पार्टीले ४९ हजार ३ सय ९४, राप्रपा (प्रजातान्त्रिक) ले ३५ हजार ९७, राष्ट्रिय जनमोर्चाले ३२ हजार ३८ मत पाएका छन् । अन्यले १ लाख ४५ हजार ८ सय ५५ मत ल्याएका छन् ।

प्रत्यक्षमा वाम गठबन्धनको दुईतिहाइ

काठमाडौं (कास)– वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । कुल १ सय ६५ सिटमध्ये राति ११ बजेसम्म एउटा क्षेत्रको मात्र गणना बाँकी थियो ।

एमालेको ८० र माओवादीको ३६ सहित वाम गठबन्धनमा सामेल भएका राष्ट्रिय जनमोर्चाको १ र राप्रपाको १ समेत गरी ११८ सिट पुगेको छ । तेस्रो स्थानमा रहेको कांग्रेस २२ सिटमा सीमित छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । राति ११ बजेसम्मको गणनामा सुनसरी–३ मा कांग्रेस नेता विजयकुमार गच्छदार एमालेकी भगवती चौधरीभन्दा ४४ मतले मात्र पछाडि थिए ।

प्रदेशसभातर्फको प्रत्यक्षमा १ सिटको मात्र गणना बाँकी हुँदा एमालेले १६६, माओवादी

केन्द्रले ७३, कांग्रेसले ४४ र अन्यले ४६ स्थानमा जित हात पारेका छन् । kantipur

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २७ गते बुधबार