19 September 2021  |   आइतवार, अशोज ३, २०७८

माया प्रेमको बहानामा सामुहिक बलात्कार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

कोहलपुर, ०७ कार्तिक, बाँके प्रहरीले माया प्रेमको जालोमा पारी सामुहिक बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको जनाएको  छ । बलात्कार पश्चात अश्लिल फिल्म बनाई त्यही फिल्म देखाउदै पीडित माथि बारम्बार बलात्कार गरी फरार रहेका मुख्य व्यक्ति पक्राउ गरी अनुसंधान सुरु गरेको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा प्रहरी निरीक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार प्रेम गर्ने भनेर ललाई फकाई मादक पदार्थ सेवन गराई साथीहरुको सहयोगमा बलात्कार गरेको अभियोगमा कोहलपुर नगरपालिका –१२ बस्ने वर्ष २२ को राजु बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
अभियोजन लागेका राजुले २०७४ जेठ १० गते राती साढे ९ बजेको समयमा आफ्ना साथीहरुको सहयोगमा पीडित (परिवर्तित नाम संकेत ६५९४०) लाई प्रेम गर्ने बहाना बनाई ललाई फकाई जवरजस्ती करणी गरी अश्लिल फिल्म समेत निर्माण गरेको आरोपमा कोहलपुर प्रहरीले मुद्दा दर्ता गरेको थियोे ।
सो घटनामा राजुकै साथीहरु वर्ष १९ को दिपेश डाँगी र वर्ष २० को सागर शाही समेतले पीडितलाई कोहलपुरको चपरगौडी बजारमा लगी मादक पदार्थ बियर खुवाई तिनै जनाले पीडितलाई कोहलपुर नगरपालिका–१३ सिम्रीस्थित सामुदायिक वनमा लगी जबरजस्ती करणी गरेका थिए । घटना पश्चात दिपेश र सागर अझै फरार छन् । प्रहरीले उनीहरुको खोजि गरिरहेको जनाएको छ ।
अभियोजन लागेका राजुले सुरुमा जबरजस्ती करणी गरेपछि दिनेश र सागरले मोबाईलबाट अश्लिल भिडीयो बनाई निजहरुले समेत सोही भिडियो पीडितलाई देखाई डर देखाई अनुचित प्रभावमा पारी सामुहिक जबरजस्ती करणी गर्ने गरेको र सो घटनाको अश्लिल भिडियो सार्वजनिक भए लगत्तै प्रहरीलाई घटनाबारे पीडितको तर्फबाट जानकारी गराएका
थिए । जानकारी पाए लगत्तै पीडकहरु उपर ईलाका प्रहरी कार्यालय कोहलपुरले भदौ १७ गते सामुहिक जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
सो घटनामा संलग्न अभियुक्तहरु फरार रहेकोमा प्रहरी टोलीले निजहरुको खोज तलासको क्रममा कात्तिक ३ गते राजुलाई बर्दिया जिल्लाको बासगढी क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बाँके जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     11:59:32 AM  |