एजेन्सी, १७ असोज – अमेरिकाको लास भेगस गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हात–हतियारहरु फेला पारिएको बताएका छन् ।

एकजना स्थानीय अधिकारीले जानकारी गराए अनुसार ६४ वर्षीय हमलाकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको छ ।

प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए ।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा मारिनेको संख्या ५९ पुगेको प्रहरीले जनाएको छ ।